फुटबल

फिफा विश्वकपः अप्रत्यासित नतिजासँगै समूह चरणबाटै बाहिरिए ठूला टिम

इकागज |
साउन १९, २०८० शुक्रबार ११:२० बजे

काठमाडौँ- अस्ट्रेलिया र न्यूजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबलअन्तर्गत समूह चरणमै एकपछि अर्को अप्रत्यासित नतिजाहरु आएका छन् ।

समूह ‘एच’ अन्तर्गत मोरक्कोले कोलम्बियालाई १-० गोलले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्‍यो । मोरक्कोले डेब्यु प्रतियोगितामै प्रि-क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।


जर्मनीसँग ६-० को पराजय भोगेको मोरक्को समूह चरणबाटै बाहिरिने अनुमान भएपनि मोरक्कोले कोलम्बियालाई स्तब्ध पारेको थियो ।

मोरक्कोले अन्तिम १६ को यात्रा तय गर्दा दुई पटकको विजेता जर्मनी भने दक्षिण कोरियासँग १-१ गोलको बराबरी खेल्दा समूह चरणबाटै बाहिरियो ।

त्यसैगरी, समूह ‘एफ’ अन्तर्गत ब्राजिललाई बराबरीमा रोक्दै जमैका पनि नकआउट चरणमा प्रवेश गर्‍यो । जमैकाले फ्रान्ससँग पनि गोलरहित बराबरी खेलेको थियो ।

ब्राजिल सन् १९९५ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो ।

पहिलो खेलमै नर्वेलाई १-० ले पराजित गर्दै सनसनी मच्चाएकोसह-आयोजक न्यूजिल्यान्डले भने विश्वकपमा डेब्यु गरेको फिलिपिन्ससँग १-० को पराजय भोग्दा समूह चरणबाटै बाहिरियो ।

अर्को सह-आयोजक अस्ट्रेलियाले पनि समूह ‘बी’ अन्तर्गत क्यानाडालाई ४-० ले पराजित गर्‍यो । यस समूहमा नाइजेरियाले अस्ट्रेलियालाई ३-२ ले पराजित गर्दै अप्रत्यासित नतिजा निकाल्यो र अघिल्लो चरणमा प्रवेश गर्‍यो ।

साविक विजेता अमेरिका अपराजित हुँदै समूह ‘ई’ बाट नकआउट चरणमा प्रवेश गरे पनि समूहको उपविजेता बन्नु पर्‍यो ।

दक्षिण अफ्रिकाले समूह ‘जी’ को उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्दा इटालीलाई ३-२ पाखा लगायो । यससँगै इटाली समूह चरणबाटै घर फर्कियो ।

यता समूह ‘डी’ मा रहेको सन् १९९९ उपविजेता चीन भने इंग्ल्यान्डसँग ६-१ तथा डेनमार्कसँग १-० पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।


Author

थप समाचार
x