युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी
काठमाडौँ- नयाँ सिजन सुरु हुनुअघिको अन्तिम खेलमा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ ।
मोन्टजुइकको ओलम्पिक स्टेडियममा भएको आफ्नो पहिलो खेलमा इंग्लिस क्लब टोटेनहम हटस्परलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको हो ।
बार्सिलोनाले ग्याम्पर ट्रफी लगातार ११ औँ पटक र अहिलेसम्म ४६ पटक आफ्नो नाममा पारेको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फेरान टोरेस, अंशु फाती र आब्डे इज्जलजौलीले एक-एक गोल गरे । टोटेनहमका लागि ओलिवर स्किपले दुवै गोल गरे ।
लेवान्डोस्कीले तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर टोटेनहमका स्किपले खेलको २४ औँ र ३६ औँ मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाए ।
खेलको ८० मिनेटमा मैदान उत्रेका १६ वर्षीय लामिन यमालको पासमा टोरेसले गोल गर्दै बार्सिलोनालाई २-२ को अवस्थामा पुर्याए ।
बार्सिलोनाका अर्का युवा खेलाडी फातीले ९० औँ मिनेट र आब्डे इज्जलजौलीले अतिरिक्त समयमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
बार्सिलोनाले आइतबार राति गेटाफेविरुद्ध लालिगाको पहिलो खेल खेल्ने तालिका रहेको छ । टोटेनहमले भने ब्रेन्टफोर्डको सामना गर्दै इंग्लिस प्रिमियर लिगको सुरुवात गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया