फुटबल

फिफा विश्वकपः सह-आयोजक अस्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड पहिलोपटक फाइनलमा

इकागज |
साउन ३१, २०८० बुधबार १७:४० बजे

काठमाडौँ- इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा आज भएको पहिलो सेमिफाइनल खेलमा सह-आयोजक अस्ट्रेलियालाई ३-१ गोलअन्तरले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

यो जितसँगै इंग्ल्यान्ड पहिलोपटक विश्वकपको फाइनल पुग्यो । लगातार तीनपटक सेमिफाइनल हार व्यहोरेको इंग्ल्यान्ड चौथो पटकमा उपाधि नजिक पुगेको हो ।


इंग्ल्यान्डलाई पहिलोपटक फाइनलमा पुर्‍याउन एला टूने, एलेसिया रुसो र लरेन हेम्पले एक-एक गोल गरे ।

अस्ट्रेलियाका लागि सामन्था केरले एक गोल फर्काइन् ।

२३ वर्षीया एला टूनेले ३६ औँ मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् ।

अस्ट्रेलियाकी कप्तान केरले ६३ औँ मिनेटमा बराबरी गोल गरिन् ।

७१ औँ मिनेटमा हेम्पले गोल गर्दै इंग्ल्यान्डलाई दोस्रो पटक अग्रता दिलाईन् । खेलको ८६ औँ मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्यान्डको जित सुनिस्चित गरिन् । इंग्ल्यान्डले अब आइतबार फाइनलमा स्पेनको सामना गर्नेछ । 

 


Author

थप समाचार
x