हिउँ चितुवा, याक संरक्षण गर्न तीन दिन स्थानीय क्बल र कलाकारबीच फुटबल हुँदै
काठमाडौँ- मनाङमा हिउँ चितुवा र याक संरक्षण गर्ने उद्देश्यले फुटबल खेल हुने भएको छ । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भदौ २५ देखि २७ गतेसम्म फुटबल खेल हुने आयोजकले जानकारी दिएका हुन् ।
एन्ट फाउण्डेसन, वाइल्ड फ्रि र बायोकोसको आयोजनामा तीन दिनसम्म फुटबल हुने भएको हो । मनाङको तिमाङ, पिसाङ र मुङजी मैदानमा फुटबल हुनेछ ।
कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारले हिमाली क्षेत्रका लोपोन्मुख जनावरको संरक्षणका निम्ति मैत्रीपूर्ण खेल गर्न लागिएको जानकारी दिए । उनका अनुसार कलाकार, खेलाडी र विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता र स्थानीय खेलाडीहरू सहभागी हुने छन् ।
स्थानीय क्लब टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याकबीच खेल हुने ताम्राकारले बताए । पहिलो दिन तिमाङ, दोस्रो दिन पिसाङमा र तेस्रो दिन मुङ्जी ब्राकामा खेल हुनेछ ।
बायोकोसले स्थानीय जनताले वन्यजन्तुको संरक्षणमा गरेको योगदान र संरक्षणलाई सम्मान गर्न यस खेल आयोजनाले योगदान गर्ने विश्वास व्यक्त गरेको छ । वन्यजन्तु संरक्षण गर्नलाई खेलले अभिप्रेरणा गर्ने पनि आयोजक बायोकोसले जनाएको छ ।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको असरका बारेमा पनि जानकारी दिने बायोकोसले बताएको छ । पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्न यसले विशेष भूमिका निर्वाह गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया