फुटबल

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता

इकागज |
भदौ २५, २०८० सोमबार १३:२८ बजे

तस्बिरः कर्मा छिरिङ शेर्पाको फेसबुकबाट

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता भएको छ ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता भएको हो ।


शेर्पासहित ४९ सदस्यको हस्ताक्षरसहित नेम्वाङविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता भएको हो । सामान्य अवस्थामा पनि भर्चुअल साधारणसभा आव्हान गरेकाे भन्दै त्यसविरुद्ध बहुमत सदस्यहरुले असन्तुष्टि जनाएका थिए । आइतबारका लागि तय भएको साधारणसभा स्थगित भएपछि सोमबारका लागि भर्चुअल साधारणसभा बोलाइएको थियो । तर आज बाेलाइएकाे भर्चुअलमा सदस्यहरू उपस्थित नहुँदा बैठक नै हुन सकेन ।

सोमबार एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई इमेल पठाउनुका साथै प्रत्यक्ष भेटेरै बर्खास्तीको प्रस्ताव दर्ता गराइएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले इकागजलाई जानकारी गराए ।

उनले बर्खास्तीको प्रस्ताव दर्ता भएसँगै अध्यक्ष र महासचिव स्वतः निलम्बनमा परेको दाबी समेत गरेका छन् ।

अब बरिष्ठ उपाध्यक्ष, सहायक महासचिवहरु तथा कार्यसमितिले बैठक बोलाएर विशेष साधारणसभा आह्वान गर्नुपर्‍यो । र बर्खास्तीको प्रस्ताव साधारणसभामा पेश गर्नुपर्‍यो र त्यसको सुनुवाइ हुनुपर्‍यो,’ तुलाधरले भने ।

विभिन्न डिभिजन लिगका क्लबहरुले भौतिक उपस्थितिमा एन्फाको साधारणसभाको माग गर्दै आएका थिए । तर एन्फाले नेतृत्वले भने भर्चुअल साधारणसभामा जोड दिएका थिए ।


Author

थप समाचार
x