कृष्णप्रसाद दाहाल स्मृति मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा
मकवानपुर- मकवानपुरकाे हेटौँडामा जारी कृष्णप्रसाद दाहाल स्मृति मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएकाे छ । हेटौँडा ६ स्थित गौरीटार रंगशालामा जारी प्रतियाेगिताकाे उपाधिका लागि निर्मल माध्यमिक विद्यालय र चन्द्रोदय माध्यमिक विद्यालय भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइलमा निर्मल मावि बस्तिपुरले गोरक्षेश्वर मावि हेटौँडा १८ फुर्केचौरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यस्तै चन्द्रोदय मावि हेटौँडा ८ र जनजागृति मावि हेटौँडा १५ बीच भएको खेल ट्राइब्रेकरमा टुङ्गो लागेको थियो । प्रतिस्पर्धा पूर्ण खेलमा दुवै टिमले खेलको निर्धारित समयमा बराबरी १–१ गोल गरेपछि खेल ट्राइब्रेकर धकेलिएकाे थियाे । ट्राइब्रेकरमा चन्द्रोदय माविले ४–२ ले जनजागृति माविलाई हराएकाे आयाेजकले जनाएकाे छ ।
जिल्ला फुटबल संघकाे आयाेजनामा भएकाे प्रतियोगिताको उपाधिका लागि शनिबार फाइनल खेल हुने छ । प्रतियाेगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार शिल्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्ने छन् भने फुटबल प्रतियोगितामा २९ विद्यालयको सहभागिता रहेको आयाेजकले जनाएकाे छ ।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा हुँदै आएको प्रतियोगितामा लागि यस वर्षबाट अष्ट्रेलियमा बस्दै आएका हेटौँडा २ निवासी रोशनप्रसाद दाहालले प्रतियोगिताको प्रायोजन गरेका हुन् । दाहालले आफ्ना पिता कृष्णप्रसाद दाहालको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्ने गरी प्रायोजन गरेकाे बताइएकाे छ । फुटबल संघकाे तर्फबाट जिल्ला अध्यक्ष टीकाराम लामा र दाहालबीच ५ वर्षका लागि प्रतियाेगिता प्रायोजन गर्ने गरी सम्झौता भएकाे छ ।
प्रायोजनवापत दाहालले प्रत्येक वर्ष एक लाख रुपैयाँ दिने र सो रकममा प्रत्येक दुई वर्षमा २० प्रतिशतका दरले वृद्धि हुने सहमति भएको छ । दाहाल अष्ट्रेलियाको मेलबर्नस्थित रोयल वेस्टर्न क्लबका अध्यक्षसमेत हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया