फिफा विश्वकप छनोट :
कस्तो छ नेपाल र यमनबीचको 'हेड टू हेड' ?
काठमाडौँ- फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ ।
नेपाल फिफा वरियतामा १७३ औँ स्थानमा छ भने यमन १५६ औँ स्थानमा रहेको छ । नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो ।
नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो । सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए । यो नै नेपालले यमनविरुद्ध गरेको अहिलेसम्मको एक मात्र गोल हो ।
यसअघि २०१७ को जुन १३ मा नेपाल र यमनबीचको एसियन कपको छनौट खेलमा खेल गोलरहित बराबरीमा रोकिएको थियो ।
त्यसअघि नेपाल र यमनबीच २०१४ को मार्च २५ मा मैत्रीपूर्ण खेल भएको थियो । जसमा यमनले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेपाल र यमनबीच पहिलो खेल सन् २००० को फेब्रुअरी १० मा भएको थियो । एसियन कपको छनौट अन्तर्गतको सो खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।
विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।
त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया