एनएसएल : साविक विजेता काठमाडौँ रेजर्सले भोग्यो पहिलो पराजय
काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता काठमाडौँ रेजर्सले पहिलो हार भोगेको छ । दशरथ रंगशालामा शनिबार साँझ बुटवल लुम्बिनी फुटबल क्लबले काठमाडौँलाई २-१ गोलअन्तरले पराजित गर्यो ।
काठमाडौँले पहिलो खेलमा जित हासिल गरेपछि लगातार २ २ खेलमा बराबरी खेलेको थियो ।
बुटवललाई जित दिलाउन बिनोङले २८ औँ तथा कप्तान एरिक विष्टले ६० औँ मिनेटमा गोल गरे । काठमाडौँका लागि इन्ज्युरी समयको अन्त्यतिर राजीव लोप्चनले एक गोल फर्काए ।
५ खेलबाट ७ अंकसहित बुटवल तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौँ भने ४ खेलमा ५ अंकका साथ पाँचौं स्थानमा झर्यो । यसअघि धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको थियो ।
पहिलो हाफमा २-० ले पछि परे पनि धनगढीले इलामसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको ४४ औँ मिनेटमा फोडे कामाराले गोल गर्दै इलामलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा उमर थियोमले गोल गर्दै इलामको अग्रतालाई दोब्बर बनाए । तर, खेलको ६८ औँ मिनेटमा अग्यमङले पेनाल्टीमा धनगढीका लागि गोल गर्दै खेल २-१ मा पुर्याए ।
बेन्चबाट मैदान छिरेका ओलावाले अफिजले ८३ औं मिनेटमा हेडमार्फत धनगढीलाई बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्कियो ।
यससँगै धनगढीले ८ अंक जोड्यो । समान अंक भएको पोखरा दोस्रो स्थानमा छ । इलामले ५ अंक जोडेको छ । लिग अन्तर्गत आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनबीचको खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया