भिनिसियसलाई साउदी लिगबाट बम्पर अफर !
काठमाडौँ- हाल स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई साउदी प्रो लिगले बम्पर अफर गरेको छ ।
मिडिया रिपोर्टका अनुसार साउदी लिगका चार क्लबमा लगानी भएको साउदी पब्लिक इन्भेस्टमेन्ट फण्डले भिनिसियसलाई पाँच वर्षमा एक बिलियन युरो दिने प्रस्ताव गरेको छ ।
जुन उनले हाल रियल म्याड्रिडमा पाइरहेको पारिश्रमिक भन्दा १३ गुणा बढी भएको बताइएको छ । भिनिसियस र उनका एजेण्टलाई सो प्रस्ताव दिइसकेको रिपोर्टमा दाबि गरिएको छ । आर्थिक प्रस्ताव बाहेक उनलाई अन्य आकर्षक प्रस्तावसमेत दिइएको छ ।
भिनिसियसको साउदी जाने हल्लाबीच रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले भने यो हल्ला निराधार रहेको बताएका छन् । उनले यो अनुमानभन्दा अरु केहि नभएको दाबी गरेका छन् । प्रशिक्षक एन्सेलोटीले भिनिसियस रियल म्याड्रिडमै रहन चाहेको स्पष्ट गर्दै यस्ता अनुमानले उनलाई कुनै असर नगर्ने बताए ।
२४ वर्षीय भिनिसियसले रियल म्याड्रिडमा ६ सिजन खेलिसकेका छन् । उनले अहिलेसम्म २६४ खेल खेल्दै ८३ गोलसमेत गरेका छन् । उनले रियल म्याड्रिडबाट अहिलेसम्म १२ ट्रफीसमेत जितेका छन्, जसमा दुई च्याम्पियन्स लिग उपाधि समावेश छन् ।
साउदी प्रो लिगले स्टार खेलाडीहरुलाई ठूलो रकम अफर गरेको यो पहिलो पटक भने होइन । यस अघि नेइमार, करिम बेन्जमा, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीलाई लिगमा भित्र्याएको छ ।
रोनाल्डो अहिले साउदी लिगमा धेरै पारिश्रमिक पाउने खेलाडी हुन् । उनले अहिले प्रति वर्ष करिब २०० मिलियन युरो पारिश्रमिक पाउँछन् । साउदी लिगमा रोनाल्डोको सम्झौता लामो नभएका कारण अब अर्को सुपरस्टारको खोजी भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया