फुटबल

साफ यू २० च्याम्पियनसिपका खेलहरू सातदोबाटोको एन्फा कम्प्लेक्समा हुने

इकागज |
साउन ३१, २०८१ बिहीबार १६:५३ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू २० च्याम्पियनसिपका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार भाद्र २ देखि १२ गतेसम्म हुने साफ यू २० च्याम्पियनसिपको तयारी पूरा भएको र खेलहरू एन्फा कम्प्लेक्समा हुने जनाएको हो । एन्फाका प्रवक्ता सुरेश शाहले सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा गर्ने तयारी गरे पनि रंगशालाको अवस्थाका कारण कठिन भएको उनले बताए ।


म्याच कमिस्नरले निरीक्षणपछि मात्रै सेमिफाइनल र फाइनल खेलहरू दशरथ रंगशाला हुने वा नहुने टुङ्गो लाग्ने उनले बताए । उनले अहिलेका लागि रंगशालाको विकल्पका रूपमा एन्फा कम्प्लेक्सलाई स्वीकृत गराइएको जानकारी दिए । प्रवक्ता शाहले रंगशालाको मर्मत सम्भार राम्रोसँग नभएकाले अहिलेको अवस्था आएको उल्लेख गरे ।

यू २० च्याम्पियनसिपमा सहभागी हुने ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित बंगलादेश र श्रीलंका रहेका छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट रु ३ करोड १० लाख ५३ हजार ९ सय रहेको एन्फाले जनाएको छ ।


Author

थप समाचार
x