फुटबल

विश्व फुटबलमा रोनाल्डो र मेस्सीको 'इरा' सकिएको हो ?

इकागज |
भदौ २१, २०८१ शुक्रबार ७:३४ बजे

काठमाडौँ- विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको इरा सकिएको विश्लेषण शुरु भएको छ ।

हालै विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डो अर अवार्डको मनोनयन सार्वजनिक हुँदा सो सूचीमा रोनाल्डो र मेस्सीको नाम नभएपछि अब दुवैको २१ वर्ष लामो विश्व फुटबलमा दबदबा अन्त्य भएको विश्लेषण हुन थालेको हो । 


विश्व फुटबलका पछिल्ला २१ वर्षमा पहिलो पटक बालोन डो अरको मनोनयनमा रोनाल्डो र मेस्सी छैनन् । सन्‌ २००३ देखि यता पहिलो पटक रोनाल्डो र मेस्सी दुवै जना एकै पटक बालोन डो अरको मनोनयनमा नपरेका हुन् ।

मेस्सीले अहिलेसम्म सबैभन्दा बढी ८ पटक बालोन डो अर उपाधि जितेका छन् । मेस्सीले अघिल्लो वर्ष नै अन्तिम पटक यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । रोनाल्डोले पछिल्लो पटक यो अवार्ड सन्‌ २०१७ मा जितेका थिए । 

गत वर्ष दुवैले पहिलो पटक युरोपियन फुटबलबाट बाहिरिएका थिए । सन्‌ २०२३ को जनवरीमा रोनाल्डो साउदी प्रो लिगमा गएका थिए भने सन्‌ २०२३ को जुनमा मेस्सी अमेरिकन लिग खेल्न इन्टर मियामी पुगे ।

अहिले साउदी प्रो लिगमा रोनाल्डो र अमेरिकन लिगमा मेस्सी रमाइरहेका छन् । रोनाल्डोले गत वर्ष ५० गोल गरे भने मेस्सीले इन्टर मियामीलाई अहिलेसम्मकै पहिलो लिग कप जिताए ।

३९ वर्षीय रोनाल्डो अहिले पनि अल नासर र राष्ट्रिय टिम पोर्चुगलका लागि सक्रिय रुपमा खेलिरहेका छन् । त्यस्तै मेस्सी भने इन्जुरिका कारण अर्जेन्टिनाको राष्ट्रिय टिमबाट अहिले बाहिर छन् ।


Author

थप समाचार
x