फुटबल

मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !

इकागज |
कात्तिक ३, २०८१ शनिबार ८:६ बजे

काठमाडौँ- विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको प्रतिद्वान्दिता फुटबलप्रेमीबीच निकै चर्चित हुने गर्दछ । आफ्नो फुटबल क्यारियरको अन्तिम चरणमा रहेका दुवै सुपरस्टारहरुको अहिले पनि उत्तिकै तुलना हुने गर्दछ । यसैबीच चर्चित म्यागजिन फोर्ब्सले जारी गरेको विश्वका धनि फुटबल खेलाडीको सूचीमा रोनाल्डोले मेसीले भन्दा दोब्बर बढी कमाई गरेको खुलेको छ ।

फोर्ब्सका अनुसार अल नासरका स्टार रोनाल्डोले पछिल्लो १२ महिनामा २८५ मिलियन डलर कमाई गरेको उल्लेख छ । पछिल्लो १० बर्षमा रोनाल्डोको कमाई आकाशिएको छ । रोनाल्डोले २०१४ मा १२ महिनामा ७३ मिलियन डलर कमाएका थिए ।रोनाल्डोले अल नासरसँग बार्षिक २२० मिलियन डलर पारिश्रमिक लिएका छन् भने ६५ मिलियन डलर कमर्सियल सम्झौताबाट कमाएको रिपोर्टमा उल्लेख छ ।


त्यस्तै रोनाल्डोका प्रतिद्वन्दी मानिने मेसीले पछिल्लो १२ महिनामा १३५ मिलियन डलर कमाई गरेका छन् । मेसीले इन्टर मियामीबाट ६० मिलियन डलर पारिश्रमिक लिएका छन् भने कमर्सियल सम्झौताबाट ७५ मिलियन डलर कमाई गरेका छन् । 

फोर्ब्सको सूचीमा साउदी प्रो लिगमा खेल्ने खेलाडीहरुको कमाई उच्च देखिएको छ ।

फोर्ब्सको सूचीमा तेस्रो स्थानमा अल हिलालबाट खेल्ने नेइमारले ११० मिलियन कमाई गरेका छन् । उनले अल हिलालबाट बार्षिक ८० मिलियन पारिश्रमिक लिएका छन् भने कमर्सियल डिलबाट ३० मिलियन कमाइ गरेका छन् ।

त्यस्तै अल इतिहादबाट खेल्ने करिम बेन्जमाले १०४ मिलियन डलर कमाई गरेका छन् । उनले अल इतिहादबाट बार्षिक सय मिलियन डलर लिएका छन् भने कमर्सियल डिलबाट ४ मिलियन लिएका छन् । उनी धेरै कमाई गर्ने फुटबलरको सूचीमा चौथो स्थानमा छन् ।

यस सूचीमा रियल म्याड्रिडबाट खेल्ने फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे पाँचौं स्थानमा छन् । एम्बाप्पेले रियल म्याड्रिडबाट ७० मिलियन डलर र कमर्सियल डिलबाट २० मिलियन डलर गरि ९० मिलियन डलर कमाई गरेका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने नर्वेका इर्लिंग हालाण्डले सिटीबाट ४६ मिलियन डलर र कमर्सियल डिलबाट १४ मिलियन डलर गरी ६० मिलियन डलर कमाइ गरेका छन् । उनी फोर्ब्सको सूचीमा छैटौं स्थानमा छन् ।

यस सूचीमा सातौ स्थानमा रियल म्याड्रिडबाट खेल्ने ब्राजिलका भिनिसियस जुनियर रहेका छन् । भिनिसियसले रियलबाट ४० मिलियन र कमर्सियल डिलबाट १५ मिलियन गरि ५५ मिलियन कमाई गरेका छन् ।

त्यस्तै आठौ स्थानमा लिभरपुलबाट खेल्ने इजिप्टका मोहमद सलाह छन् । सलाहले लिभरपुलबाट बार्षिक ३५ मिलियन र कमर्सियल डिलबाट १८ मिलियन गरी १२ महिनामा ५३ मिलियन डलर कमाइ गरेका छन् ।

त्यस्तै यस सूचीमा नवौं स्थानमा अल नासरबाट खेल्ने सेनेगलका साडियो माने रहेका छन् । मानेले अल नासरबाट बार्षिक ४८ मिलियन पारिश्रमिक पाउछन भने कमर्सियल डिलबाट ४ मिलियन गरि बार्षिक ५२ मिलियन डलर कमाउछन् ।

यस सूचीमा १०औं स्थानमा म्यानचेस्टर सिटीबाट खेल्ने बेल्जियमका केभिन डी ब्रुने रहेका छन् । ब्रुनेले सिटीबाट बार्षिक ३५ मिलियन डलर र कमर्सियल डिलबाट ४ मिलियन गरि बार्षिक ३९ मिलियन डलर कमाइ गरेका छन् ।

फोर्ब्सले यस सूचीमा खेलाडीले आफ्नो विगतको लगानीबाट र अन्य क्षेत्रवाट गरेको आम्दानीलाई यस आँकडामा नजोडेको बताएको छ ।


Author

थप समाचार
x