आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई
काठमाडौँ - आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता– २०८१को उपाधि गण्डकी प्रदेश प्रहरीले हात पारेको छ । आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उपाधि हात पारेको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा यही कात्तिक ७ गतेदेखि सुरु प्रतियोगिताका विजेता खेलाडी तथा अफिसियलहरूलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
साथै उनले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, सहभागी टिमलाई मायाको चिनो, निर्णायकहरू एवं प्रतियोगितामा सहयोग पुर्याएकाहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विधामा प्राप्त ख्याति तथा प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाइ हासिल गरेको सफलता प्रशंसनीय रहेको बताए ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमश : नगद रु एक लाख एक हजार र रु ५१ हजार एवं ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । सर्वोत्कृष्ट हुने खेलाडीलाई रु १० हजार पाँच सय ५५ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही रु सात हजार पाँच सय ५५ प्रदान गरिएको छ । उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया