फुटबल

बालेनले गरे गोल, काठमाडौंका जनप्रतिनिधिले कर्मचारीलाई हराए

इकागज |
मंसिर २७, २०८१ बिहीबार १४:४२ बजे

फाइल फोटो

मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई पराजित गरेको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पनि एक गोल गरेका छन् ।

३० औँ महानगर दिवसको अवसरमा बिहीबार सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा प्रमुख ११ र प्रमुख प्रशासकीय ११ को भिडन्त भएको हो । खेलमा प्रमुख ११ को टिमले ५ गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले २ गोल गरे ।


जनप्रतिनिधिको नेतृत्व मेयर बालेनले र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेका थिए । उनीहरु दुवैले ६० मिनेटको पुरा अवधि खेले । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गराएकी थिइन् ।

प्रमुख ११ कातर्फबाट प्रमुख शाहसँगै सन्तोष ढुङ्गेलले २ गोल, नविन भण्डारीले १ गोल र विनय शाक्यले १ गोल गरे ।  खेलको दोस्रो हाफमा बालेनले पेनाल्टीबाट गोल गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले २ गोल गरेका थिए ।

महानगर दिवसका अवसरमा भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता बाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ ।

मंसिर २९ गते शनिवार विहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुनेछ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । त्यसै अवसरमा विभिन्न क्षेत्रगत रुपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान कार्यक्रम हुनेछ ।

९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमूना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुनेछ । दिउँसो ३ बजेदेखि व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ ।


Author

थप समाचार
x