झापा कपको उपाधि चर्च ब्वाइजलाई
झापा- झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हराएको हो ।
चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो ।
गत वर्ष यही रंगशालामा आयोजित झापा गोल्ड कपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हात पारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसन राखेको थियो । स्कोर भने हुन नसक्दा एनआरटीले उपाधि हात पार्न असफल भएको हो ।
खेलको २१ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समीर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए ।
मैदानको मध्यभागबाट सिंगल खेल्दै गोलरक्षकको हातबाट फुत्किएको बललाई वान टचमा जाली चुमाए । ४३ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्मान्डले गोल गरे ।
त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए ।
खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे । खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए ।
उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए ।
मस्ट भ्यालुएबल प्लेयर चर्च ब्वाइजका रोहण कार्की भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए । यसैबीच, झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया