मेस्सीले जित्दा नेयमार पनि कम खुशी थिएनन्
काठमाडौँ : कोपा अमेरिकाको उपाधि मेस्सीले जिते । टिमका हिसाबले नेयमार बलियो देखिन्थे । तर फाइनलमा ब्राजिलभन्दा अर्जेन्टिनाले अब्बल खेल्यो ।
नेयमार र मेस्सी डिफेन्डरको घेरामा परे । उनीहरुले दर्जनौ पटक गोलका लागि प्रयास गरे । तर सकेनन् । पहिलो हाफमा अर्जेन्टिनाका लागि डी मारियाले गोल गरे ।
मेस्सीको दबाब घट्यो । नेयमारलाई दबाब बढ्यो । उनले खेलको बेग बढाए । तर विपक्षी रक्षकको निशानामा परिरहे । बल खोस्ने र प्रहार गर्ने क्रममा नेयमार दर्जनौ पटक लडे । कति पटक उठे । कति पटक केही समय उनले चोट बोके ।
अन्ततः टिमलाई जिताउन उनी उठ्थे । विपक्षीले फेरि लडाउँथे । खेल अवधिभर मेस्सीभन्दा नेयमार बढी चलायमान देखिए । धेरैजसो बल नेयमारले चलाए । तर त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।
दोस्रो हाफको अन्त्यतिर नेयमार झन बढी दबाबमा थिए । उनले त्यसका लागि प्रयास पनि गरे । तर सकेनन् । यसबीचमा ब्राजिलका लागि रिचार्लिसनले दुई वटा शक्तिशाली प्रहार गरे ।
एउटा प्रहारले जाली पनि चुम्यो । तर त्यो गोलले मान्यता पाएन ।त्यसलगत्तै उनले अर्को शक्तिशाली प्रहार गरे । त्यो प्रहार अर्जेन्टिनाका गोल रक्षक मार्टिनेजले रोके । त्यो प्रहार रोक्दा मार्टिनेज आफै ढलेका थिए ।
नेयमार गोलका लागि लडिरहे । अर्जेन्टिनाका डिफेन्डरले रोकिरहे । जब रेफ्रीले खेल सकिएको सिठ्ठी फुके । मेस्सी घुडा टेकेर जितको खुशीमा भावुक बने । उनलाई अर्जेन्टिनी खेलाडीले कसिलो अंगालोमा हाले ।
तर यता नेयमार रोए । उनले आफूलाई सम्हाल्न सकेनन् । रुँदै उनी टचलाइनतिर गए । जर्सीले अनुहार छोप्न खोजे । उनको पीडा छोपिएन । आशु रोकिएन ।
जसरी सन् २०१५ र २०१६ को फाइनल हार्दा मेस्सी रोएका थिए । त्यसैगरी नेयमार रोए । धरधरी रोए । मेस्सी जितको खुशी मनाइरहेका थिए ।
उफ्रिरहेका थिए । खुशीले उफ्रिए । हर्षले उफ्रिए । पीडा भुलेर हाँसे । इतिहास रचेर नाँचे । तर नेयमार रोइरहे । एक छिनपछि नेयमारले मन बलियो पारे । उनी फेरि मैदान फर्किए ।
जहाँ मेस्सी खुशीले उफ्रिरहेका थिए । वर्षौदेखिको उपाधिको खडेरी तोडेर नाचिरहेका थिए । खुशीको बहार पाएका थिए । मेस्सीको खुशीमा हमेशा सामेल नेयमार यसपटक पनि छुट्न चाहेनन् । देशका लागि पहिलो उपाधि जितेका मेस्सीलाई नेयमारले अंगालोमा कसे । बधाई दिए । खुशीको हकदार सम्झे । जित सुम्पिए ।
भनिन्छ, इतिहास सँधै जित्नेको लेखिन्छ । मेस्सीले इतिहास लेखे । नेयमारले त्यो इतिहास स्वीकार गरे । फाइनलमा चुक्दाको सबैभन्दा धेरै पीडा मेस्सीलाई थियो । यसपटक नेयमारले पनि भोगे ।
तर पनि उनले आफ्नो मन कमजोर बनाएनन् । सबै ब्राजिलियन खेलाडी र फ्यान स्तब्ध भएका बेला नेयमार मेस्सीसँगै उभिए । उनकै जितको खुशीमा रमाए । हाँसे । मेस्सीको काँधमा टाउको राखेर रोएपनि उनले जितमा साथ दिए ।
बार्सिलोनामा नेयमार हुँदा मेस्सीले सबैभन्दा धेरै उपाधि जितेका थिए । नेयमार र मेस्सी फरवार्ड लाइनमा हुँदा बार्सिलोना इतिहासकै बलियो टिम बनेको थियो । जहाँ उनीहरुले वर्षौ सँगसँगै बिताए ।
सन् २०१७ मा नेयमार पीएसजी लागे । बार्सिलोना छाडेर नेयमार कठोर मन बनाएर पीएसजी गएका थिए । त्यसयता मेस्सी बार्सिलोनामा एक्लिए । नेयमारको साथविना मेस्सीले जित्न पनि छाडे । त्यसपछि उनले ला लिगासम्म जिते । च्याम्पियन्स लिगको फाइनलमै पुग्न सकेनन् ।
नेयमारले बरु दुई वर्षअघि टिमलाई फाइनल पुर्याए । तर बार्यन म्युनिकसँग पराजित भए । मेस्सीलाई गएको वर्ष स्वारेजले पनि छाडे । उनी एथ्लेटिको म्याड्रिड गए । बार्सिलोना र रियललाई पछि पार्दै ला लिगा उपाधि जिते ।
मेस्सी झन् कमजोर भए । अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्दाकाे समय मेस्सी बार्सिलोनामा सम्झौताविहीन छन् । अब उनी बार्सिलोनामै बस्छन वा छाड्छन् । त्यो एकिन छैन । तर मेस्सी र नेयमारको मित्रता भने एकैनासको छ ।
जित र हारमा पनि उनीहरु सदाबहार मित्र छन् । फाइनल अघि पनि उनीहरु साथी थिए । फाइनलपछि पनि उनीहरु साथी छन् । एउटा तस्बिरमा मेस्सी र नेयमार दुवैले जर्सी फुकालेर टपलेस छन् । जहाँ देशको जर्सी देखिदैन । तर उनीहरुको नसा नसामा एकअर्काप्रतिको माया छ । मित्रता छ । साथ छ । सम्बन्ध छ । जहाँ जित हारमा पनि सदाबहार सारथीपन देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया