नेपाली टीमलाई अन्तराष्ट्रिय प्रतियोगिता जित्न योग्य बनाउन ध्यान केन्द्रित - मुख्य प्रशिक्षक म्याट रोस

काठमाडौं - नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले नेपाली टीमलाई बलियो बनाउँदै अन्तराष्ट्रिय प्रतियोगिता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताएका छन् ।
सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा उनले नेपाललाई एसियन कपमा छनोट गराउनेदेखि साफ च्याम्पियनसिप लगायतका अन्तराष्ट्रिय प्रतियोगिता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताएका हुन् ।
नेपालमा फुटबलको प्यासन धेरै देखिएको भन्दै उनले फुटबल खेलको विकासका लागि आफूले आवश्यक भूमिका खेल्ने जिकिर गरे । स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्नका लागि कठिन नभएको उनले बताए ।
उनले नेपाली टीममा केही सुधारको आवश्यकता आफूले देखेको भन्दै जुनसुकै खेलमा पनि उच्च मनोबलका साथ मैदान उत्रन जरुरी रहेको जिकिर गरे । आफ्नो कार्यकालमा दवावमुक्त भएर टीमको विकासमा लाग्ने उनको भनाइ छ ।
म्याट रोसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोस चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे भने खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसंगै नेपाली टीमलाई बलियो रुपमा अघि बढाउने विश्वास व्यक्त गरे ।
म्याट रोस डेढ महिनादेखि काठमाडौंमा रहेर नेपाली फुटबललाई नियालिरहेका थिए । उनले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिकाको सुरुवात गर्नेछन् । त्यस्तै नेपालले मार्च २५ मा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट २०२६ को पहिलो लेग खेल्दैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया