फुटबल

के मेस्सी पीएसजी जाँदैछन् ?

इकागज |
साउन २२, २०७८ शुक्रबार ७:३ बजे

काठमाडौँ : मेस्सीले बार्सिलोना छाड्ने घोषणा गरेसँगै उनको सम्भावित गन्तव्यका बारेमा धेरैको चाँसो बढेको छ । मेस्सीका लागि प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजी लागिरहेका समाचार यसअघि नै आएका थिए । तर पछिल्लो समय मेस्सीको बार्सिलोना छाड्ने घोषणा र नेयमारले इन्स्टाग्राममा पोस्ट गरेको फोटोको संयोगले नयाँ संकेत दिएको छ ।

यसै हप्ताको सुरुवातमै नेयमारले आफ्ना क्लबका टिममेटसहित मेस्सीसँगको फोटो इन्स्टामा पोस्ट गरेका थिए । एक रात्री दृश्यमा मेस्सी आफ्ना सदाबहार साथी नेयमार र डी मारियासँगै देखिएका छन् । 


डीमारियाको गोलमा अर्जेन्टिनालाई पहिलोपटक कोपा अमेरिका फुटबलको उपाधि दिलाएका मेस्सी खुशी देखिन्छन् । बार्सिलोनासँग सम्झौता नवीकरण गर्न नचाहनु, आफ्नो सम्मान र पुराना साथीहरुसँगै खेल्न चाहनु मेस्सीको नयाँ योजना हो । यसका लागि मेस्सीको उपयुक्त गन्तव्य पीएसजी हुने पनि फुटबल पण्डितको भनाइ छ । फुटबलमा राज गर्न खेलाडीमाथि पैसा खन्याउने पीएसजीका मालिकहरुको  स्वभाव पनि पछिल्लो समय चर्चामा छ ।

हालै रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई भित्र्याएको पीएसजीले मेस्सीका लागि वर्षौदेखि प्रयास गरिरहेको छ । यसको बदलामा उसले चार वर्षअघि नेयमार खरिद गरेको थियो । तर च्याम्पियन्स लिगको फाइनलमा पुगेर पनि पराजित भएपछि पीएसजीले मेस्सी, नेयमार, रामोसहितको ड्रिम फुटबल टिमको खाका कोरेको पनि समाचार आएको थियो ।

नेयमारले पोस्ट गरेको फोटोले पनि मेस्सी पीएसजी जाने संकेत गरेको छ । तर यसबारे स्वयंम मेस्सीले कस्तो निर्णय गर्छन् ? थाहा पाउन केही दिन कुर्नैपर्छ ।


Author

थप समाचार
x