फुटबल

विश्‍वकप आयोजनासम्बन्धी नयाँ योजनामा फिफा र युईएफएको संघर्ष

इकागज |
भदौ २०, २०७८ आइतबार ६:३८ बजे

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल निकाय संस्था, फिफाले एउटा महत्वकांक्षी योजना बनाएको छ । त्यो हो, विश्वकप प्रत्येक दुई-दुई वर्षमा आयोजना गर्ने । हाल चार वर्षको अन्तरालमा भइरहेका पुरुष तथा महिला विश्वकप दुई–दुई वर्षमा आयोजना गर्ने योजनाको पक्ष र विपक्षमा बहस भइरहेका छन् । 

नेपालसहित विश्वका कयौँ मुलुक फिफाको यस प्रकारको योजनाको पक्षमा छन् । तर युरोपियन फुटबल महासंघ (युईएफए) भने फिफाको यस्तो योजनामा सहमत छैन । हालैमात्र पनि युईएफएएका अध्यक्ष अलेक्जान्डर केफेरिनले फिफाको आलोचना गरेका छन् । केफेरिनले गरेको आलोचनलाई युरोपका फिफा सदस्य र क्लबहरूको साथ छ । 


‘हामी फिफाको योजनाप्रति शंसकित छौँ । हामी अन्तर्गत रहेका धेरै फुटबल संघहरू पनि फिफाको योजनासँग सहमत छैनन् । फुटबल समर्थकहरूले पनि फिफाको योजनाबारे प्रश्न उठाइरहेका छन् । यस मामलामा युईएफए सम्पूर्ण फुटबल समर्थकसँगै छ,’ केफेरिनले युरोपका फुटबल समर्थकहरूको समूह एफएसईलाई लेखेको पत्रमा भनिएको छ ।   

गत मेमा साउदी फुटबल संघले विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्न प्रस्ताव फिफामा राखेको थियो । साउदीको प्रस्तावपछि यस विषयमा बहस तातिएको छ । दुई–दुई वर्षमा विश्वकप आयोजना सम्भव छ वा छैन भन्ने विषयमा फिफाले अध्ययन पनि थालेको छ । निक्र्योलमा नपुग्दै विवाद हुन थालेपछि आफ्नो पक्षमा माहोल बनाउन फिफाले पूर्वखेलाडीहरूको समर्थन खाजेको छ । अफ्रिका पूर्वस्टार याया टुरेदेखि इंग्ल्यान्डका माइकल ओवेनसम्म फिफाको पक्षमा आफ्नो प्रतिक्रिया दिइरहेका छन् । 

प्रस्ताव साउदीले राखेको भए पनि फिफाका अध्यक्ष जियानी इन्फान्टिनो पनि दुई दुई वर्षमा विश्वकप आयोजना गर्नुपर्छ भन्ने पक्षमा खुलेका छन् । फेरि साउदी र इन्फान्टिनोबीच समधुर सम्बन्ध पनि छ । इन्फान्टिनो बाहेक फिफा विकास निर्देशक आर्सन वेगंर यस योजनाका अर्का मास्टरमाइन्ड हुन् । जसले गत शुक्रबार फ्रेन्च अखबार एल एक्यिुपेसँगको अन्तर्वार्तामा भनेका छन् , ‘आशा छ आउँदो डिसेम्बरमा यस सम्बन्धि निर्णय हुनेछ ।’ 

निर्णयमा पुग्नुअघि व्यापक बहस हुन्छ वा हुँदैन भन्नेमा युईएफएको चिन्ता छ । उसका अध्यक्ष केफेरिन के ठान्छन् भने, फिफाले आफ्नो पक्षमा माहोल तयार पार्न मेहेनत गरिरहेको छ ।

‘फिफाले आफ्नो योजना हाम्रासामू स्पष्ट ढंगमा राखेको छैन । न त अन्य महादेशीय संघहरूमै राखेको छ । फिफा सदस्यहरू नै अन्योलमा छन् । क्लब, समर्थक तथा समग्र फुटबल जगत नै फिफाको योजनामा के छ भन्नेमा स्पष्ट छैनन् । महत्वपुर्ण स्टेकहोल्डरहरूसँग आवश्यक छलफल गर्ने होइन, आफ्नो पक्षमा माहोल बनाउन आवश्यक गृहकार्यमा फिफा जुटेको छ,’ केफेरिनले भनेका छन् । 

केफेरिन मात्र होइन, एफएसई पनि भयमा छ । उसले युरोपियन फुटबल समर्थकहरू दुई–दुई वर्षमा विश्वकप आयोजना गर्ने फिफाको योजनाको खिलाफमा छन् भनेको छ । यही विषयमा उसले केफेरिनलाई पत्र लेखेको थियो ।  

‘विश्वकप आयोजनाको अन्तराल घटाउन अन्तर्राष्ट्रिय फुटबलको क्यालेन्डर परिवर्तन गर्ने हो भने स्थानीय लिग देखि महादेशीय प्रतियोगिताका तालिकासम्म प्रभावित हुनेछन् । फेरि यस्तो योजनाले युरो कप, कोपा अमेरिका, एसियन कप, अफ्रिका कप अफ नेसन्स लगायतका प्रतियोगिताहरूको महत्वमाथि नै प्रश्न उठाउने देखिन्छ,’ एफएसईले भनेको छ ।

फिफाको विरोधमा एक ठाउँमा विश्वभरका फुटबल समर्थक एकै ठाउँमा उभिनुपर्ने एफएसईका कार्यकारी निर्देशक रोनान इभाइनको भनाइ छ । उनले आफूहरूको संगठन अन्य पाँच महादेशीय समर्थकहरूको समूहसँग छलफलमा रहेको पनि जनाए ।

‘विश्वकप चार वर्षमा मात्रै आउने भएकाले पनि यस इभेन्टका लागि समर्थकले व्यग्र प्रतिक्षा गर्ने हुन्,’ इभाइनले भनेका छन्, ‘विश्व फुटबलको संरचनामा परिवर्तन र सुधार गर्नु आवश्यक छ । विश्वका सबै भागमा उत्तिकै फुटबल पूर्वाधार छैनन् । समानता छैन । तर यी समस्याको समाधान विश्वकप दुई–दुई वर्षमा आयोजना गरेर हुँदैन ।’ 
दी गार्डियनबाट 


Author

थप समाचार
x