बार्सिलोनामा रोनाल्ड कुमनलाई प्रतिस्थापन गर्नसक्ने पाँच प्रशिक्षक
काठमाडौँ- बार्सिलोना संकटमा छ । उसका प्रशिक्षक रोनाल्ड कुमन दबाबमा छन् । अझ भन्दा उनी पदमुक्त हुने सम्भावना बढिरहेको छ । कुमन बर्खास्तीमा परे, उनको स्थानमा को ल्याउने भन्ने छलफलमा बार्सिलोना छ । यस्तोमा केही प्रशिक्षकहरू बार्सिलोनासँग जोडिएका छन् ।
हुन त केही साताअघि देखि नै बार्सिलोनाले प्रशिक्षक परिवर्तन गर्ने हल्ला चलिरहेको थियो । तर च्याम्पियन्स लिगमा लगातार दोस्रो पराजय बेहोरेपछि भने कुमन बर्खास्तीमा पर्ने लगभग तय भएको स्पेनिस सञ्चार माध्यमहरूले लेखेका छन् ।
बार्सिलोनाले शनिबार राति एट्लेटिको म्याड्रिडको सामना गर्नेछन् । यस खेलका लागि कुमन बार्सिलोनाको बेन्चमा हुने छैनन् । किनभने उनलाई दुई खेलका लागि ‘टचलाईन’ प्रतिबन्ध लगाइएको छ । उनले गत साता काडिथसँगको खेल दौरान रातो कार्ड देखाइएको थियो । एट्लेटिकोसँगको खेल नै कुमनका लागि अन्तिम खेल हुनसक्ने गोल डटकमले दाबी गरेको छ ।
कुमनको बर्खास्तीको हल्लासँगै उनलाई प्रतिस्थापन गर्नसक्ने केही प्रशिक्षकहरूको नाम स्पेनिस सञ्चार माध्यमहरूमा आइरहेको छ । तीमध्ये पाँच प्रशिक्षकबारे यहाँ चर्चा गरिनेछः
जाभी हर्नान्डेज
बार्सिलोना समर्थकले बुझेको एउटा तथ्य के हो भने, जाभी हर्नान्डेज कुनै न कुनै दिन क्याम्प नौउ फर्कनेछन् । त्यो पनि प्रशिक्षक बनेर । उनी आफैँले पनि सपना बुनेका छन्, लामो समय आफू रहेको क्लबको प्रशिक्षक बन्ने । अनि उनले योजना पनि बनाइसकेका छन्, प्रशिक्षक बनेपछि एकेडेमीका खेलाडीहरूलाई मौका दिने । स्थानीय किशोरहरूलाई स्टार बनाउने ।
जाभी हाल कतारमा छन् । उनी त्यहाँ अल सादको प्रशिक्षक हुन् । पेप ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले युरोपियन क्लब फुटबलमा सनसनी मच्चाउदा टिम कप्तान रहेका जाभी कतारमा धेरै समय रहने छैनन् । जाभी क्याम्प नौउ फर्किए, उनलाई बार्सिलोनामा सफल हुन पर्याप्त समय पनि दिइने छ ।
तर अब प्रश्न उठ्छ, के जाभीलाई प्रशिक्षक बनाउन क्लब अध्यक्ष जोआन लोपार्टो साँच्चै तयार छन् त ? यो प्रश्नको उत्तर सजिलो छैन । किनभने लापोर्टा जाभिप्रति पूरै आत्मविश्वासी छैनन् । यसका केही कारण छन् । जस्तै, बार्सिलोना अध्यक्षका लागि भएको निर्वाचनमा जाभी लापोर्टाका प्रतिद्वन्द्वी भिक्टर फन्टको क्याम्पमा थिए ।
अर्को कारण, जाभी बार्सिलोना समर्थकमाझ असाध्यै लोकप्रिय छन् । यसकारण क्लबभित्रको राजनीतिमा जाभी बलियो खेलाडी बन्न सक्छन् । यसो हुँदा लापोर्टा ४१ वर्षीय जाभीमाथि हाबी हुनसक्ने अवस्था हुँदैन । यदि अहिलेको जस्तो क्लब अध्यक्ष र प्रशिक्षकबीच मनमुटाव हुने भने, जाभीको पल्ला भारी हुनेछ ।
फेरि जाभी कम अनुभवी छन् । उनले कतार बाहिर प्रशिक्षक बनेर काम गरेका छैनन् । न त उनले बार्सिलोना ‘बी’को जिम्मेवारी सम्हालेका छन् । लापोर्टा जाभी सिनियर टिमको प्रशिक्षक बन्नुअघि जुनियर टिमको प्रशिक्षक बनुन् भन्ने चाहन्छन् ।
जे होस्, जाभी बार्सिलोनाका लागि अन्तिम र सशक्त विकल्प हुन् । तर यदि जाभी पनि असफल हुने हो भने बार्सिलोनाका लागि के विकल्प बाँकी रहन्छ ? अनुमान गर्न गाह्रो छ ।
रोबर्टो मार्टिनेज
हाल बेल्जियम राष्ट्रिय टिमका प्रशिक्षक रहेका रोबर्टो मार्टिनेज बार्सिलोनासँग आबद्ध हुन लालयित छन् । हाल बार्सिलोनाका सहायक ‘स्पोर्टिङ चिफ’ रहेका योर्डी क्रुफसँग मार्टिनेजको सम्बन्ध राम्रो रहेको बताइन्छ । जसकारण, क्रुफले मार्टिनेजका लागि जोड गर्ने सम्भावना पनि छ ।
फेरि मार्टिनेज क्याट्लोनियाकै हुन् । उनको फुटबल ‘फिलोसपी’ बार्सिलोनासँग मिल्दोजुल्दो छ । उनी ‘पोसेसन’ फुटबल खेलाउन मन पराउँछन् । कमसेकम कुमनको भन्दा आक्रामक फुटबल शैली छ, मार्टिनेजको । यद्यपि उनीमाथि केही आरोप पनि छन् । उनका आलोचक के भन्छन् भने, मार्टिनेजसँग ‘प्लान बी’ हुँदैन ।
मार्टिनेज बार्सिलोनासँग जोडिएको यो पहिलो पटक होइन । यसअघि पनि उनी बार्सिलोनाको प्रशिक्षक बन्ने हल्ला पटक पटक चल्दै आएको हो । मार्टिनेज विगत १५ वर्षदेखि प्रशिक्षणमा छन् । तर उनले जम्मा-जम्मी दुई पटक उपाधि जितेका छन् । सन् २००८ मा इंग्लिस फुटबलमा तेस्रो श्रेणीको मानिने लिग वान र सन् २०१३ मा विगन एथ्लेटिकसँग एफए कप ।
मार्टिनेजको पछिल्लो क्लब अनुभव एभरटन हो । जहाँबाट उनी सन् २०१६ मा बर्खास्तीमा परे । ठूला मानिने क्लबमन प्रशिक्षण दिएको अनुभव नभएका मार्टिनेज बार्सिलोनाका लागि कत्तिको उपयुक्त विकल्प हुन् ? यसमा बहस चलिरहेको छ ।
आन्द्रेइ पिर्लो
युभेन्टसबाट प्रशिक्षण करियर सुरु गरेका आन्द्रेइ पिर्लो पनि बार्सिलोनासँग पनि जोडिएका छन् । उनी लापोर्टाको व्यक्तिगत रोजाइ रहेको बताइन्छ । पिर्लो युभेन्टसबाट बर्खास्तीमा परेको भए पनि उनको खेलाउने शैलीको लापोर्टा प्रशंसक हुन् ।
‘म आफ्नो शैली कहिल्यै पनि परिवर्तन गर्न चाहन्न । भलै यसले तत्काल नतिजा नदिओस् । मेरो मान्यता रक्षापंत्तिबाट बिल्ड-अप सुरु गर्नुपर्छ भन्ने हो । बढी भन्दा बढी बल पोसेसन राख्ने र बल गुमाइहाले तत्काल प्रेस गर्नुपर्छ । मेरो शैली यही हो,’ पिर्लोले आफ्नो शैलीबारे भनेका छन् । पिर्लोको यो शैली बार्सिलोनाका लागि सुहाउँदिलो रहेको लार्पोटाको ठम्याई छ ।
उत कुमनको तरिका भने फरक छ । उनी तीन सेन्ट्रल डिफेन्डर खेलाउँछन् । उनको नेतृत्वमा बार्सिलोना ३-५-२ को संरचनामा खेल्छ । यस किसिमको शैलीमा खेल्दा बार्सिलोनाले आफ्नो पहिचान झल्किने प्रकारको खेल देखाउन सकिरहेको छैन ।
मार्सेलो गालार्दो
अर्जेन्टिनियन क्लब रिभर प्लेटको प्रशिक्षक रहेका मार्सेलो गलार्दो पनि बार्सिलोनासँग बारम्बार जोडिँदै आएका नाम हुन् । यसपालि पनि गालार्दो बार्सिलोनाको प्रशिक्षक बन्ने चलिरहेको छ । आउँदो डिसेम्बर गालार्दोको रिभर प्लेटसँगको सम्झौता सकिँदैछ । यसकारण पनि उनी बार्सिलोना जाने हल्ला बलियो बनेको हो ।
४५ वर्षीय गलार्दोलाई रिभर प्लेट इतिहासकै सबैभन्दा सफल प्रशिक्षक मानिन्छ । उनी आक्रामक फुटबल खेलाउने र खेलमा आइपर्ने परिस्थिती अनुसारको रणनीति बनाउन माहिर मानिन्छन् । कतिपयले गलार्दोलाई ग्वार्डिओलासँग पनि दाँज्ने गर्छन् । गालार्दो आफैँ भने ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षकमध्येको एक मान्छन् ।
गलार्दोको टिम निर्माण गर्ने शैली कुमनको प्रशिक्षणमा रक्षात्मक फुटबल खेल्ने बानी परेको बार्सिलोनाका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ । यद्यपि लियोनल मेस्सीविनाको बार्सिलोना जान गलार्दोले मरिहत्ते गर्लान भन्ने छैन । हुन त बार्सिलोना अध्यक्ष लापोर्टा आफैँ चाहिँ गलार्दोलाई प्रशिक्षक बनाउन कति तयार छन् भन्ने प्रश्न पनि छ । किनभने गलार्दोसँग युरोपियन फुटबलको अनुभव छैन ।
यसअघिका बार्सिलोना अध्यक्ष जोसेप मारिया बार्तामोउले गलार्दोलाई नियुक्त गर्ने इच्छा राखेका थिए । त्यसबेला तत्कालिन प्रशिक्षक एर्नेस्टो भाल्भार्दोलाई बर्खास्त गरेको बार्सिलोना नयाँ प्रशिक्षकको खोजिमा थियो । तर गलार्दो बार्सिलोना गएनन्, बरु किके सेटिन क्याट्लन क्लबको नयाँ प्रशिक्षक बने ।
अन्य प्रशिक्षक
माथि उल्लेख गरिएकाबाहेक अरु प्रशिक्षक पनि बार्सिलोनासँग जोडिएका छन् । जसमा स्पेनिस राष्ट्रिय टोलीका लुइस एनरिकेदेखि एन्टोनियो कोन्टेसम्म छन् । केही दिनअघि एनरिकेलाई बार्सिलोना फर्किने सम्भावना कत्तिको छ भनेर पनि सोधियो । ‘अध्यक्ष लापोर्टासँग आफ्नो टेलिफोन नम्बरसमेत छैन होला,’ एनरिकेले ठट्यौली पारामा जवाफ दिएका दिए ।
आयाक्समा एरिक टेन हाग पनि बार्सिलोनामा फिट हुने प्रशिक्षक हुन् । तर उनले ‘मिड-सिजन’मा आफूले क्लब परिवर्तन नगर्ने बताइसकेका छन् । यदि हागलाई पर्खने हो भने, हालका लागि अन्तरिक प्रशिक्षक नियुक्त गर्ने विकल्प पनि बार्सिलोनासँग छ ।
गोल डटकमबाट
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया