फुटबल

बार्सिलोनासँग स्वारेजको माफी

इकागज |
असोज १७, २०७८ आइतबार १३:५४ बजे

काठमाडौँ - स्पेनिस ला लिगामा शनिबार राति एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गर्‍यो । वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमै दुई गोल गर्‍यो । पहिलो गोल थोमस लेमारले गरे भने दोस्रो गोल लुइस स्वारेजले गरे । आफ्नो पूर्वटिम विरुद्ध गोल गरेका स्वारेजले गोलको खुशीयाली मनाएनन् । खराब लयमा रहेको बार्सिलोनाविरुद्ध गोल गरेपछि स्वारेजले दुई हात जोडेर माफी मागिरहेको दृश्य देखियो । 

गोल गरेपछि शालिन मुद्रमा देखिएका स्वारेजले बार्सिलोना प्रशिक्षक रोनाल्ड कुमन लक्षित इशारा भने गरे । उनले टेलिफोन गरे जस्तो इशारा गरे । यो कुमनप्रति लक्षित रहेको बताइएको छ । किनभने बार्सिलोनाको प्रशिक्षक बनेपछि कुमनले स्वारेजलाई टेलिफोन गरी भनेका थिए, ‘बार्सिलोनामा अब तिम्रो आवश्यकता छैन,।’  


त्यही टेलिफोनपछि स्वारेजले बार्सिलोना छाड्ने निर्णय लिएका थिए । त्यसपछि उनको यात्रा एट्लेटिकोतर्फ सोझिएको थियो । सन् २०१० को ‘समर विन्डो’मा एट्लेटिकोसँग आबद्ध भएका स्वारेजले त्यहाँ पहिलो सिजनमै ला-लिगा उपाधि जिते । 

गत सिजन लिगमा बार्सिलोनाविरुद्ध भने उनले एउटा मात्रै खेल खेल्न पाए । कोभिड–१९ संक्रमणमा परेपछि स्वारेजले पहिलो लिग खेल गुमाए भने दोस्रो खेल बराबरीमा टुंगिएको थियो । यस्तोमा शनिबार रातिको गोल नै उनले एट्लेटिकोको जर्सीमा बार्सिलोनाविरुद्ध गरेको पहिलो लिग गोल हो । 

करिब ६ वर्ष बार्सिलोनामा बिताएका स्वारेजले पूर्वक्लबसँगको खेलमा गोल गरिहाले खुशीयाली नमनाउने योजना बनाएको बताए । ‘बार्सिलोनाविरुद्ध गोल गरे खुशीयाली नमनाउने योजनाका साथ मैदान प्रवेश गरेको थियो । टेलिफोनको इशारा कुमन लक्षित थिएन । बरु त्यो त मैले मेरा साथीहरूका लागि गरेको थिए । मेरो नम्बर पूरानै छ, त्यसमै टेलिफोन गर्न सक्छौँ भन्ने इशारा गरेका हुँ,’ खेलपछि स्वारेजले भने । 

बार्सिलोनाका लागि २८३ खेलमा १९५ गोल गरेका स्वारेज एट्लेटिकोमा पनि प्रभावकारी देखिएका छन् । उनले म्याड्रिडको क्लबका लागि ४७ खेलमा २५ गोल गरिसकेका छन् । गएको सिजन स्पेनिस च्याम्पियन बनेको एट्लेटिकोको जर्सीमा स्वारेजले २१ लिग गोल गरेका थिए । यसपालि पनि उनले आठ लिग खेलमा चार गोल गरिसकेका छन् ।  


Author

थप समाचार
x