फुटबल

एट्लेटिकोसँग हारेपछि कुमनले गरे युवा खेलाडीको आलोचना

इकागज |
असोज १७, २०७८ आइतबार १५:२ बजे

काठमाडौँ- बार्सिलोना शनिबार राति एट्लेटिको म्याड्रिडसँग पराजित भयो । वान्डामा मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोले दुई गोल गर्‍यो । विजयी टिमका लागि थोमेस लेमार र लुइस स्वारेजले एक–एक गोल गरे । 

ला-लिगामा सात खेलमध्ये तीनमा मात्रै जित हासिल गरेको बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कमन यतिबेला दबाबमा छन् । एट्लेटिकोसँग हारेपछि उनी थप दबाबमा परेका छन् । उनी बर्खास्तीमा पर्ने हल्ला पनि चलिरहेको छ । 


उनै कुमनले एट्लेटिकोसँग हारेपछि आफ्ना युवा खेलाडीलाई दोष दिएका छन् । १९ वर्षिय मिडफिल्डर निको गोन्जालेजलाई कुमनले दोष दिएका हुन् । एट्लेटिकोका गोलकर्ता लेमरलाई मार्क नगरेको भन्दै कुमनले गोन्जालेजको आलोचना गरेका हुन् । 

‘एट्लेटिको जस्तो बलियो टिमसँग खेल्दा हामी निकै सचेत हुनुपर्छ । विपक्षी खेलाडीहरूलाई स्पेस दिनु हुँदैन । उनीहरूलाई मार्क गर्नुपर्छ । विशेषगरी मिडफिल्डरहरूले एट्लेटिकोका खेलाडीहरूलाई मार्क गर्न आवश्यक थियो । तर निको गोन्जालेजले लेमारलाई मार्क गरेनन् । लेमारलाई खुल्ला छाडिदिए । जसकारण हामीले गोल खानु पर्‍यो,’ खेलपछि कुमनले भने । 

युवा मिडफिल्डर गोन्जेलजले यस सिजन पाँच लिग खेल खेलेका छन् । पहिलो एघारमा त उनी जम्मा दुई पटक मात्रै परेका छन् । गत साता लेभान्टेसँगको खेलमा ९० मिनेट नै मैदानमा बिताएका गोन्जालेज एट्लेटिकोविरुद्धको खेलमा पनि पहिलो एघारमा परे । यद्यपि दोस्रो हाफ भने उनले खेल्न पाएनन् । 

युवा खेलाडीहरूलाई मौका दिने मामलामा आफूलाई उदार ठान्ने कुमनले १९ वर्षीय खेलाडीको आलोचना गरेका हुन् । सिनियर खेलाडीहरूलाई केही भन्न नसकिरहेका कुमनले करियरको सुरुवाती चरणमा भएका खेलाडीलाई हार वा गोल खानुमा दोषी ठहराउनुले उनी कति दबाबमा छन् भनेर ठम्याउन सकिन्छ ।  


 


Author

थप समाचार
x