फुटबल

अति उत्साहित नबन्‍न नेपाली समर्थकलाई अल्मुताइरीको आग्रह

इकागज |
असोज १७, २०७८ आइतबार १७:३२ बजे

काठमाडौँ - साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्‍यो । दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगितामा यसअघि नेपालले माल्दिभ्सविरुद्ध जित निकाल्न सकेको थिएन । यसपटक इतिहास बन्यो । त्यो पनि माल्दिभ्सकै मैदानमा । 

माल्दिभ्ससँगको खेलमा नेपालले पहिलो हाफ रक्षात्मक खेल्यो । माल्दिभ्सले निरन्तर नेपालको क्षेत्रमा बल पुर्‍याइरह्यो । तर गोल गर्न सकेन । नेपाली रक्षापंक्तिले मिडफिल्डको सहयोगमा माल्दिभ्सका हरेक प्रयास विफल बनायो । दोस्रो हाफमा नेपालले फरक किसिमको खेल देखायो । मुभ बनाउन सुरु गर्‍यो । र, उत्तर्राद्धमा निर्णायक गोल गर्‍यो । मनिष डाँगीले माल्दिभ्सका कमसेकम चार खेलाडीलाई बिट गरेर गोल गरेर । 


मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले माल्दिभ्ससँग सावधानीपूर्वक खेल्ने योजना बनाएको देखियो । सकेसम्म माल्दिभ्सको गल्ती पर्खिने नेपालको योजना थियो । माल्दिभ्सले स्पेस दिनसाथ नेपालले काउन्टर अट्याक गर्‍यो । नेपालले यही रणनीति आफ्नो दोस्रो खेलमा पनि अपनाउने संकेत अल्मुताइरीले गरेका छन् । नेपालले सोमबार श्रीलंकाको सामना गर्दैछ । 

‘श्रीलंकासँगको खेल सजिलो हुने छैन । यसकारण हामी सावधानीपूर्वक खेल्नेछौँ । हामी आवश्यकता भन्दा बढी आक्रामक हुने छैनौँ । हाम्रो मुख्य उदेश्य खेल जित्नु हो । त्यसका लागि हरेक उपाउ अपनाउने छौँ,’ आइतबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा अल्मुताइरीले भने । 

फिफा वरीयतामा श्रीलंका निकै तल भएपनि त्यसले सम्भावित नतिजामा केही फरक नपार्ने भन्दै अल्मुताइरीले नेपाली समर्थकलाई पनि अति उत्साहित नहुन पनि सुझाव दिए । ‘सामाजिक सञ्जालमा मलाई नेपाली समर्थकले सन्देश पठाइरहेका हुन्छन् । ५–०, ६–० ले खेल जित्नु पर्छ भनिरहेका हुन्छन् । म उनीहरूलाई अति उत्साहित नहुन आग्रह गर्न चाहन्छु । किनभने श्रीलंकासँगको खेल सोचेजस्तो सजिलो पक्कै हुने छैन,’ अल्मुतारीको भनाइ थियो । 

माल्दिभ्सविरुद्धको जित बिर्सेर अघि बढ्नु पर्ने पनि उनको भनाइ थियो । ‘माल्दिभ्ससँगको खेललाई अब बिर्सिदिउ । हो, जितका कारण म खुशी छुु । तर त्यो खेल सकियो । अब नयाँ विपक्षी हाम्रो अगाडि छ । हामीले यो खेल जसरी भए पनि जित्नु छ,’ अल्मुताइरीले भने । 

नेपाली टिमका कप्तान किरण कुमार लिम्बुले आफूहरू निश्चित उदेश्य बोकेर माल्दिभ्स पुगेको र उदेश्य प्राप्तिका लागि श्रीलंकाविरुद्ध जित नयाँ खुड्किलो हुने बताए । ‘हामी कुनै टिमसँग डराउँदैनौँ । भोलिको खेलबाट हामीले चाहेको तीन अंक नै हो । यसका लागि अन्तिम मिनेटसम्म पनि लड्ने छौँ,’ किरणले भने । 


 


Author

थप समाचार
x