इटालीमा एउटै खेल नहारेको नेपोली
काठमाडौँ- यस सिजन नेपोली गज्जबको लयमा छ । सिरी ए मा उसले एउटै खेल पनि हारेको छैन । युरोपका पाँच ठूला लिगका क्लबहरूमध्ये नेपोलीले मात्रै आफ्ना सबै लिग खेल जितेको छ । आइतबार राति नेपोलीले जितकाे श्रृंखलालाई निरन्तरता दियो । लुसियानो स्पालेट्टीको नेतृत्वमा रहेको नेपोलीले फियरोन्टिनामाथि २-१ को जित दर्ता गर्यो ।
फियोरेन्टिनाकै मैदानमा भएको खेलमा नेपोलीले २८ औँ मिनेटमा गोल खाएको थियो । फियोरेन्टिनाका लागि लुकास मार्टिनेजले गोल गरेका थिए । गोल खाएको १० मिनेटपछि नेपोलीले पेनाल्टी पायो । तर उसका कप्तान लोरेन्जो इनसिन्या पेनाल्टीमा चुके । उनको पेनाल्टी फियोरेन्टिनाका गोलरक्षक बार्टलोमिएज ड्रागोस्कीले बचाउ गरेका थिए । यद्यपि रिबाउन्डमा आएको बलमा हाइरभिङ लोजानो चुकेनन् । दोस्रो हाफमा नेपाेलीले गोल थप्यो । अमिर रहमानीले ५० औँ मिनेटमा गोल गरे । जुन खेलमा निर्णायक सावित भयो ।
जितपछि लिग लिडर नेपोलीको सात खेलबाट २१ भएको छ । उसलाई एसी मिलानले पछ्याइरहेको छ । सिरी ए मा अपराजित रहेका मिलानले आइतबार राति नै एटलान्टालाई ३-२ ले हरायो । एटलान्टाको मैदान गेविसमा भएको खेलमा मिलानले २७ सेकेन्डमै अग्रता लियो । मिलानलाई कप्तान डेभिड कालाब्रियाले अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर मिलानले अग्रता दोब्बर बनायो । सान्ड्रो टोनालीले एटलान्टाका कप्तान रेमो फ्रेउलरबाट बल खोस्दै सुन्दर गोल गरेका थिए ।
दोस्रो हाफको ७८ औँ मिनेटमा मिलान ३-० को स्थितिमा पुग्यो । मिलानको तेस्रो गोल राफाएल लिआओले गरे । खेल उत्तर्राद्धमा पुग्दै गर्दा एटलान्टाले पेनाल्टी पायो । डुभान जापाटाले पेनाल्टीमा गोल गरे । आतिरित्त समयमा एटलान्टाले गोल थप्यो । मारियो पासालिचले छोटो दूरीबाट गोल गरे । तर उनको गोलले एटलान्टाको हार टरेन । जितसँगै मिलानको सात खेलबाट १९ अंक बनेको छ ।
सिरी ए कै अर्को खेलमा बोल्योनाले लाजियोलाई ३-० को हार चखायो । लाजियोको जितमा मुसा बेरो, आर्थर थिएटे र आरोन हिकेले समान एक-एक गोल गरे । लाजियोलाई हराएपछि बोल्योनाको खातामा ११ अंक भएको छ । पराजित लोजियो र युभेन्टसको पनि सात-सात खेलबाट ११-११ अंक नै छ । गोल अन्तरका आधारमा लाजियो छैँटो स्थानमा छ भने युभेन्टस साँतौँ र बोल्योना आठौँ स्थानमा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया