वाटफोर्डको नजरमा लेस्टरलाई प्रिमियर लिग जिताउने क्लाउडियो रानिएरी
काठमाडौँ- इंग्लिस प्रिमियर लिगको वाटफोर्डले आइतबार प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गर्यो । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको वाटफोर्ड सात खेलपछि १४ औँ स्थानमा सीमित भएपछि मुनोज बर्खास्तीमा परे । स्पेनका सिस्कोलाई हटाएपछि बाटफोर्ड नयाँ प्रशिक्षकको खोजीमा छ ।
यस्तोमा इटालीका क्लाउडियो रानिएरी वाटफोर्डसँग जोडिएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार वाटफोर्ड र रानिएरीबीच कुराकानी जारी छ । ७० वर्षीय रानिएरी हाल क्लबविहिन छन् । उनले गत सिजनको अन्त्यमा इटालीकै साम्पडोरिया छाडेका थिए । रानिएरीलाई वाटफोर्डले अल्पकालिन विकल्पका रुपमा लिएको बताइएको छ ।
रानिएरी अनुभवी प्रशिक्षक हुन् । सन् २०१६ मा लेस्टर सिटीलाई प्रिमियर लिग जिताएका लेस्टरले इंग्ल्यान्डकै चेल्सी, फुलहम, स्पेनको भ्यालेन्सिया, एट्लेटिको म्याड्रिड जस्ता क्लबलाई प्रशिक्षण दिएका थिए । इन्टर मिलान, युभेन्टस लगायतका इटलियन क्लबहरूको पनि प्रशिक्षक रहिसकेका रानिएरीले वाटफोर्डमा तत्कालै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
भर्खरै बर्खास्तीमा परेका मुनोज, उनका पूर्ववर्ती भ्लादिमिर इभिच लगायतका प्रशिक्षकले वाटफोर्डलाई स्थिर टिम बनाउन नसकेकाले अनुभवी प्रशिक्षक खोजी गरिएको बताइएको छ । यद्यपि मुनोज पूर्वप्रशिक्षकहरुको भन्दा प्रभावकारी देखिएका थिए । उनले नै वाटफोर्डलाई इंग्लिस फुटबलको शीर्ष श्रेणीमा बढुवा गराएका थिए ।
मे, २०१७ यता वाटफोर्डले ६ प्रशिक्षकलाई बर्खास्त गरिसकेको छ । इटालीका जिनो पिज्जोले सन् २०१२ मा वाटफोर्डको स्वामित्व लिएपछि त्यहाँ प्रशिक्षक आउने–जाने भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया