फुटबल

सोल्स्यारसँग रिसाए रोनाल्डो !

इकागज |
असोज १८, २०७८ सोमबार १७:५२ बजे

काठमाडौँ- गत शनिबार म्यानचेस्टर युनाइटेड ओल्ड ट्राफोर्डमै एभरटनसँग बराबरीमा रोकियो । दुवै टिमले एक–एक गोल गरेको सो खेलमा क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मात्रै मैदान प्रवेश गरे । अनपेक्षित रुपमा युनाइटेडको पहिलो एघारमा नपरेका रोनाल्डो आफ्ना प्रशिक्षक ओले गनर सोल्स्यारसँग रिसाएका छन् । यो ग्यारी नेभिलको दाबी हो । 

हुन त खेलपछि ड्रेसिङ रुमतर्फ लाग्दा रोनाल्डो आक्रोशित देखिन्थे । यसै सिजन पुरानो क्लब फर्किएका रोनाल्डो एभरटनसँग पूरै समय मैदानमा हुन नपाउँदा रिसाउनु स्वभाविक रहेको नेभिलको भनाइ छ । रोनाल्डो रिसाउँदा सोल्स्यार समस्यामा पर्ने पनि नेभिलको दाबी छ । 


‘मैले त्यो खेल हेरे । रोनाल्डो झोकिँदै मैदान छाडिरहेका थिए । त्यो दृश्य हेर्न लायकको थिएन । खेल्न नपाउँदा, गोल गर्न नसक्दा र खेल जित्न नसक्दा रोनाल्डो रिसाउँछन् । यो हामीलाई थाहा भएकै कुरा हो । एभरटनसँगको खेलपछि रोनाल्डो रिसाउँदै ड्रेसिङ रुम फर्कनु सोल्स्यार दबाबमा पर्नु हो,’ नेभिलले स्काई स्पोर्टससँग भनेका छन् । 

युनाइटेडमा रोनाल्डोले प्रत्येक खेल खेल्न नपाउने र सबै खेलमा गोल गर्न नसक्ने भएपनि उनी प्रशिक्षकसँग रिसाउनु राम्रो संकेत नभएको नेभिलको धारणा थियो । उसो त सोल्स्यार यत्तिकै पनि दबाबमा छन् । उनको क्षमतामाथि बेलाबेलामा प्रश्न उठ्ने गरिएको छ । डिसेम्बर, २०१८ मा युनाइटेडसँग आबद्ध भएको सोल्स्यारले सरुवा बजारमा निकै खर्च गरे पनि उपाधि भने दिलाउन भने सकेका छैनन् ।

‘एलेक्स फर्गुसनले छाडेपछि युनाइटेड समस्यामा परेको थियो । सोल्स्यारको कार्यकालमा स्थिरता आएको छ । फेरि युनाइटेडका लागि खेल्न प्रतिभाशाली युवा खेलाडीहरू पनि लालयित छन् । जेडोन सान्चो, राफाएल भारान जस्ता खेलाडी अनुबन्ध गरिएका छन् । रोनाल्डो पनि फर्किएका छन् । यी खेलाडीहरूको आगमनसँगै सोल्स्यार उपाधि जित्नुपर्ने दबाबमा छन्,’ नेभिलको भनाइ थियो । 


Author

थप समाचार
x