साफ च्याम्पियनसिप फुटबल : नेपालले श्रीलंकालाई २२ वर्षपछि हरायो
काठमाडौँ- माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलअन्तरले हराएको हो ।
नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोलअन्तरले पराजित गरेको थियो । श्रीलंकाविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरे ।
खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाए । यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गरे । खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलंकाका लागि पहिलो गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए । यसैगरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल नेपाललाई ३-१ को अग्रता दिलाए ।
खेलको अन्तिम समयमा श्रीलंकाका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्याए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ । नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो । त्यसको २२ वर्षपछि सोमबार नेपालले श्रीलंकालाई हराएको हो । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया