फुटबल

एसियन कप ताक्ने भारतको बाध्यात्मक लक्ष्य: साफ जित्‍ने, इज्जत जोगाउने

इकागज |
असोज २०, २०७८ बुधबार २१:५ बजे

काठमाडौँ- जारी साफ च्याम्पियनसिप २०२१ मा पाँच टिम सहभागी छन् । तीमध्ये नेपाल, बंगलादेश र श्रीलंकाले दुई-दुई खेल खेलिसकेका छन् । आयोजक माल्दिभ्स र भारतले भने एक-एक खेल मात्रै खेल्न भ्याएका छन् । यस्तोमा नेपाल दुई जितसहित शीर्षस्थानमा छ । बंगलादेश चार अंक बटुल्दै दोस्रो स्थानमा छ । 
भारत तेस्रो स्थानमा छ ।

गत सोमबार बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि भारतले साफ च्याम्पियनसिपमा जितसहितको सुरुवात गर्न सकेन । सात पटकको च्याम्पियन भारतले आफ्नो दोस्रो खेलमा बिहीबार श्रीलंकाको सामना गर्दैछ ।   


दोस्रो हाफका अधिकांश समय १० जनामा सीमित भएको बंगलादेशसँग बराबरीमा रोकिएपछि भारतीय टिम दबाबमा छ । अझ प्रष्ट रूपमा भन्दा प्रशिक्षक इगोर स्टिमच दबाबमा छन् । हुन त स्टिमच साफ च्याम्पियनसिप भन्दा अगाडि देखि नै दबाबमा रहँदै आएका थिए । क्रोएसियाको राष्ट्रिय टिमलाई प्रशिक्षण दिएको अनुभव बोकेका स्टिमच हाई प्रोफाइल प्रशिक्षक हुन् । तर उनले भारतीय टिममा अपेक्षा गरे अनुसारको परिवर्तन ल्याउन सकेका छैनन् । 

स्टिमच मे, २०१९ मा भारतको प्रशिक्षक बनेका हुन् । उनको नेतृत्वमा भारतीय टिमले १८ खेल खेलिसकेको छ । तथ्यांक उत्साहजनक छैन । स्टिमचको नेतृत्वमा भारतले जम्मा तीन खेल जितेको छ भने आठमा बराबरी खेलेको छ । अनि सात खेलमा हार बेहोरेको छ । दक्षिण एसियाली फुटबलको सबैभन्दा बलियो मानिने भारतको लक्ष्य हो, एसियन कप खेल्ने । त्यो पनि निरन्तर । विश्वकप छनौट त उसको दिर्घकालिन लक्ष्य भइहाल्यो । 

तर दक्षिण एसियाली फुटबलको घेरामा सीमित हुन नचाहेको भारतले पछिल्लो समय हात पारेको तीन जितमध्ये दुई छिमेकी टिमविरुद्ध नै हो । गत सेप्टेम्बरमा नेपाल आएर भारतले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । सुनिल क्षेत्रीको स्वभाविक स्तरीय प्रदर्शनको सहयोगमा भारतले एक जित दर्ता गर्‍यो । अर्को खेल बराबरीमा टुंगिएको थियो । स्टिमचको नेतृत्वमा भारतले हासिल गरेको अर्को जित हो, थाइल्यान्डविरुद्ध । 

उसो त यसबीचमा भारतले केही बलिया टिमलाई बराबरीमा रोक्न सफल भएको छ । सन् २०१९ मा आफैँले आयोजना गरेको इन्टरकन्टिनेन्टल कपमा भारतले बलियो सिरियालाई १–१ को नतिजामा रोकेको थियो । सेप्टेम्बर, २०१९ मा भएको विश्वकप छनौट खेलमा कतारलाई पनि भारतीय टिमले गोलरहित बराबरीमा रोक्यो । कतारसँगकै दोस्रो लेगमा भने भारतले १–० को साँघुरो पराजय भोगेको थियो । 

बराबरीकै कुरा गर्ने हो भने भारत बंगलादेशसँग पनि रोकिएको छ । त्यो पनि आफ्नै मैदानमा भएको विश्वकप छनौट खेलमा । अफगानिस्तानले पनि भारतलाई रोकेको छ । साफको पूर्वसदस्य अफगानिस्तानले त भारतलाई दोस्रो लेगमा पनि बराबरीमै रोकेको थियो । 

पछिल्लो समय भारतीय फुटबलमा व्यापक लगानी गरिएको छ । उसको दोस्रो श्रेणीको लिग, आई–लिग पनि बाँकी दक्षिण एसियाली देशका पहिलो श्रेणीका लिगहरु भन्दा बलियो मानिन्छ । पहिलो श्रेणीको इन्डियन सुपर लिग जित्ने टिम त एसियाली क्लब फुटबलको सर्वोच्च लिग एसियन च्याम्पियन्स लिगको समूह चरणका लागि सिधै छनौट हुन्छ । 

यस्तो लाग्छ, भारत दक्षिण एसियाली फुटबलको स्तरभन्दा माथि उक्लिन असाध्यै ठूलो प्रयास गरिरहेको छ । हुन पनि भारतीय फुटबलको समग्र स्तर बाँकी दक्षिण एसियाली टिमको भन्दा माथि नै छ । उसलाई नजिकबाट चुनौती दिने माल्दिभ्सले मात्र हो । 

तर भारत एसियाली फुटबलको मध्यम शक्ति नै बन्न सकिरहेको छैन । २१ औँ शताब्दीमा भारतीय टिम जम्मा दुई पटक मात्रै एसियन कपका लागि छनौट भएको छ । सन् २०१९ को एसियन कपमा भारत समूह चरणबाटै बाहिरियो । तीन खेल खेल्दा उसले एक जित दर्ता गर्‍यो । उसले थाइल्यान्डलाई हराएको थियो । 

जति प्रयास गरे पनि भारतको परिचय दक्षिण एसियाली फुटबलको बलियो टिमबाट एसियाली फुटबलको उदीयमान शत्तिका रुपमा रुपान्तरण हुन सकेको छैन । यसकारण फेरि पनि साफ च्याम्पियनसिप जितेर इज्जत बचाउनु नै भारतको बाध्यता हो । तर यो लक्ष्य पनि भारतीय टिमका लागि उति सजिलो हुने देखिएको छैन ।

किनभने पहिलो खेलमै भारतलाई बंगलादेशले बराबरीमा रोकिसकेको छ । हुन त सुरुवाती नतिजाले बाँकी प्रतियोगितामा के हुन्छ भन्ने संकेत गर्न सक्दैन भन्ने तर्क पनि प्रस्तुत हुनसक्छ । तर यसले भारतीय खेलाडीहरूको आत्मविश्वासमा भने असर चाहिँ पक्कै गर्छ ।   

साफ च्याम्पियनसिप अगाडिका नतिजाका कारण प्रशिक्षक स्टिमच आलोचित छँदै थिए । बंगलादेशसँगको बराबरीले उनको आलोचना चुलिएको छ । स्टिफन कोन्टास्टिनले भारतीय राष्ट्रिय टिमका लागि जे जति गरे, त्यो भन्दा बढी योगदान गर्ने अपेक्षा थियो, स्टिमचबाट । तर भारतीय समर्थक स्टिमचबाट खुशी छैनन् । उनीहरूको असन्तुष्टी र आक्रोश सामाजिक सञ्जालमा छल्किएका छन् । स्टिमच आफैँ भने समर्थकको आलोचनाबाट दबाबमा नपरेको दाबी गरिरहेका छन् । 

‘सामाजिक सञ्जालमा आफूलाई मन लागेको कुरा लेख्नु समर्थकको अधिकारभित्रको कुरा हो । उनीहरु मलाई वा टिमलाई आलोचना गर्न स्वतन्त्र छन् । तर सामाजिक सञ्जालमा मेरो आलोचना मैले भारतीय टिमको जिम्मेवारी लिएको पहिलो दिनबाटै भइरहेको छ ।

खेल जितेकै दिन पनि मेरो र टिमको आलोचना हुन्छ । यस्तो किन भइरहेको छ, मलाई थाहा छैन । तर एउटा कुरामा सबैजना प्रष्ट हुन जरुरी छ, भारतीय टिममा कसले खेल्छ भन्ने निर्णय सामाजिक सञ्जालले गर्न सक्दैन,’ बुधबार प्रि-म्याच कन्फ्रेन्समा स्टिमचले भने । 

गत महिना नेपालसँगको मैत्रीपूर्ण खेल दौरान नै सामाजिक सञ्जालमा ‘स्टिमच आउट’ भन्ने ह्यास ट्याग भाइरल भएको थियो । दशरथ रंगशालामा भएको दोस्रो खेलमा जित हासिल गरेपछि नेपाली पत्रकारहरूले स्टिमचलाई दबाब र सामाजिक सञ्जालमा भइरहेको विरोधबारे प्रश्न गरे । आफूले दबाब महशुस नगरेको तर जितले आफूलाई राहत भने दिएको जवाफ स्टिमचको थियो । 

मालेमा पनि स्टिमचलाई यही प्रश्न गरियो । संयोगवस् प्रश्न सोध्ने पत्रकार पनि नेपाली नै थिए । पुराना खेलपत्रकार हिमेशरत्न ब्रजाचार्यले सोधेको प्रश्नमा स्टिमचको उत्तर थियो, ‘प्रत्येक पत्रकार सम्मेलनमा मलाई यो प्रश्न सोधिन्छ । खासमा मलाई दबाबको मतलब छैन । म समग्र भारतीय फुटबललाई सहयोग गर्न भारत पुगेको हुँ । हामी आफ्नो लक्ष्यमा छौँ । हामीले अझ धेरै मेहेनत गर्नुछ । 

प्रि-म्याच कन्फ्रेन्समा स्टिमचले फुटबलको क्रुरता र अनिश्चितताबारे पनि प्रकाश पार्न चाहे । ‘पछिल्ला दुई खेलमा श्रीलंकन टिमले असाध्यै राम्रो प्रदर्शन गर्‍यो । ती खेलबाट उसको खातामा अंक हुनु पर्ने हो । तर दुवै खेलमा उसले पराजय भोग्यो । सायद फुटबल भनेको यही हो,’ स्टिमचको भनाई थियो । 

श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा भने उसलाई नेपालले ३–२ ले पन्छायो । सुरुवाती नतिजाका आधारमा सबैभन्दा कमजोर टिम सावित भएको श्रीलंकासँगको खेल आफ्नो टिमका लागि सजिलो भने नहुने स्टिमचको अनुमान थियो । 

‘उनीहरु फिजिकल गेम खेल्छन् भनिँदैछ । उनीहरु आफूले चाहेको शैलीमा खेल्न सक्छन् । बरु हामीले चाहिँ यस्तो अवस्थामा कसरी जित निकाल्ने गरी खेल्ने भनेर सोच्नु पर्छ । उपाय लगाउनु पर्छ,’ स्टिमचले भने, ‘बरु हामीले डिफेन्सिभ गल्ती गर्नु हुँदैन । विपक्षी खेलाडीहरुलाई राम्रोसँग मार्क गर्नुपर्छ । धैर्यपूर्वक खेल्दै गोलको मौका पर्खिनु पर्छ,’ 

स्टिमच आफ्ना खेलाडीहरुसँग पक्कै पनि खुशी छैनन् । बंगलादेशसँगको बराबरीपछि स्टिमचले भारतीय खेलाडीहरूले आफ्नो अनुभवको उपयोग नै नगरेको उनको प्रतिक्रिया थियो । ‘अहिलेको भारतीय टिम अनुभवी छ । तर बंगलादेशसँग भिड्दा यी खेलाडीहरु नर्भस देखिए । यो अवस्थाको व्याख्या नै गर्न सकिँदैन,’ स्टिमचले भनेका छन् । 

भारतीय टिम फेरि पनि कप्तान सुनिल क्षेत्रीमाथि परनिर्भर देखिएको छ । भारतीय टिममा मानभिर सिंह, उडान्त सिंह, लिस्टन कोल्काओ, अनिरुद्ध थापा, फारुख चौधरी जस्ता युवा खेलाडी छन्, जो आक्रामक फुटबल खेल्न सक्छन् ।

अनुभवी ब्रान्डन फर्नान्डेज र ग्लान मार्टिन्सको साथ पनि छ, स्टिमचलाई । तर यत्तिका प्रतिभाहरू भए पनि आखिरमा स्टिमचलाई दबाबबाट मुक्त गराउन र भारतीय टिमको इज्जत बचाउन महत्वपूर्ण भूमिका सुनिलकै रहने देखिएको छ । यसको संकेत उनले पहिलो खेलबाटै गरिसके । 

    


 


Author

थप समाचार
x