फुटबल

इन्टर मिलान पनि खरिद गर्न चाहन्छ साउदी अरब

इकागज |
असोज २१, २०७८ बिहीबार २०:५९ बजे

काठमाडौँ- केही दिन यता साउदी अरबको दी साउदी इन्भेष्टमेन्ट फन्ड (पीआईएफ)ले इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडको स्वामित्व लिने खबर आइरहेको छ । बेलायती अखबारहरूका अनुसार दुई पक्ष निरन्तर छलफलमा छन् । 

पीआईएफले न्युकासल खरिद गर्ने प्रयास गरेको यो पहिलो पटक होइन । केही महिनाअघि पनि उसले इंग्लिस क्लब खरिद गर्ने प्रयास गरेको थियो । यद्यपि साउदी सरकारकै मातहतमा रहेको पीआईएफको खरिद प्रयास असफल भयो । 


तर यसपटक भने छलफल सकारात्मक ढंगले अघि बढिरहेको बताइएको छ । पीआईएफले अन्ततः करिब ३० करोड पाउन्डमा न्युकासल खरिद गर्ने सम्भावना छ । यसैबीच इटालियन सञ्चार माध्यमहरुले पीआईएफले इन्टर मिलान पनि खरिद गर्न चाहेको दाबी गरिरहेका छन् । 

इटालियन फुटबल वेबसाइट काल्सियोमर्सेटोका अनुसार पीआईएफले इन्टर खरिदका लागि चिनियाँ व्यपारिक समूह सुनिङसँग छलफल गरिरहेको छ । पछिल्लो समय इटालियन लिग सिरी ए च्याम्पियन इन्टर आर्थिक संकटमा छ । आर्थिक संकटकै कारण इन्टरले पछिल्लो सरुवा बजारमा रोमेलु लुकाकु र अचरफ हाकिमी जस्ता खेलाडीहरुलाई बेचेको थियो । 

पीआईएफ इन्टरको स्वामित्व लिन तयार रहेको बताइएको छ । तर उसका केही शर्त छन् । जस्तै, रंगशाला निर्माण । मिलान सहरका ठूला क्लब इन्टर र एसी मिलान नयाँ रंगशाला बनाउने योजनमा छन् । हाल दुवै क्लबको मैदान एउटै छ, त्यो हो सान सिरो ।

तर सान सिरोबाट दुवै क्लब सर्न चाहन्छन् । मिलेर वा भिन्दा भिन्दै रंगशाला निर्माणमा यी क्लब जुट्न चाहन्छन् । यसो गर्न इन्टर र मिलानलाई स्थानीय मिलान सहरको अनुमति चाहिन्छ । इन्टरको स्वामित्व लिनुअघि साउदी चाहन्छ, रंगशाला निर्माण अनुमतिका लाथि आवश्यक सबै प्रक्रिया पूरा होस् । 


Author

थप समाचार
x