विश्वकप छनौटः साओ पाओलोको कालो दिन बिर्सेर अघि बढ्दै ब्राजिल र अर्जेन्टिना
काठमाडौँ- बिहीबार राति विश्वकप छनौट दक्षिण अमेरिकामा फर्कदैछ । यस महादेशका दुई बलिया टिम ब्राजिल र अर्जेन्टिना आ-आफ्ना खेलमा क्रमशः भेनेजुएला र पाराग्वेको सामना गर्दैछन् । पछिल्लो पटक विश्वकप छनौटका खेलहरू सेप्टेम्बरमा भएका थिए । त्यसबेला ब्राजिल र अर्जेन्टिना पनि आमने सामने भए । तर नतिजा निस्केन ।
किनभने साओ पाओलोमा सुरु भएको केही मिनेटपछि नै सो खेल रद्ध गरिएको थियो । अर्जेन्टिनाका केही खेलाडीले कोभिड-१९ सम्बन्धी नियम उल्लघंन गरेको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरु मैदान प्रवेश गरेपछि तनाव उत्पन्न भएको थियो । ब्राजिल उत्रेपछि क्वारेन्टिनमा रहनु पर्ने नियम भएको तर अर्जेन्टिनाका केही खेलाडीले सो नियम पालना नगरेको बताउँदै ब्राजिलियन अधिकारीहरू ती खेलाडीलाई नियन्त्रणमा लिन मैदान प्रवेश गरेका थिए । पछि सो खेल रद्ध भयो ।
केही दिनपछि भएका अन्य खेलमा ब्राजिल र अर्जेन्टिना दुवैले जित हासिल गरे । हाल यी दुई टिम दक्षिण अमेरिकी छनौटको अंक तालिकाको शीर्ष दुईमा छन् । ब्राजिलले आठ खेलबाट २४ अंक बटुलेको छ भने अर्जेन्टिनाको खातामा उति नै खेलबाट १८ अंक छ ।
शीर्ष स्थानको ब्राजिलले ‘अवे’ खेलमा भेनेजुएलाको सामना गर्दैछ भने अर्जेन्टिनाको भेट छैँटो स्थानको पाराग्वेसँग हुनेछ । १० टिम सम्मिलित दक्षिण अमेरिकातर्फको विश्वकप छनौटका लागि यसपटक इंग्लिस प्रिमियर लिगका क्लबहरुले पनि खेलाडी फुकुवा गरेका छन् । गत महिना कुनै पनि दक्षिण अमेरिकी टिमले इंग्ल्यान्डमा खेल्ने आफ्ना खेलाडीहरुको उपयोग गर्न पाएका थिएनन् ।
बिहीबार राति नै तेस्रो स्थानको उरुग्वेले कोलम्बियालाई स्वागत गर्दैछ । उता चौथो स्थानको इक्वेडरको प्रतिस्पर्धा बोलिभियासँग हुनेछ भने पेरु र चिली पनि आमने सामने हुनेछन् । दक्षिण अमेरिकाबाट शीर्ष चार टिमले कतारमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्नेछन् । अंक तालिकामा पाँचौँ स्थानमा रहने टिमले अर्को महादेशको टिमसँग प्लेअफ खेल्नेछ ।
दक्षिण अमेरिकातर्फको छनौटमा ब्राजिल अन्य टिम भन्दा बलियो देखिएको छ । बिहीबार राति भेनेजुएलामाथि जित दर्ता गर्ने हो ब्राजिल विश्वकपको थप नजिक पग्नेछ । यद्यपि भेनेजुएलाविरुद्धको खेलका लागि ब्राजिलका प्रशिक्षक टिटेले आफ्ना महत्वपूर्ण खेलाडी गुमाएका छन् । टिटेका लागि भरपर्दा मिडफिल्डर कासिमिरो यो खेलमा हुने छैनन् । चोट बोकेका कासिमिरोको स्थानमा लिभरपुलका फाबिन्होले मौका पाउने सम्भावना छ ।
इंग्ल्यान्डमै खेल्ने गाब्रियल जेजुस र उनका साथी एडरसन पनि भेनेजुएलासँगको खेलका लागि उपलब्ध छन् । इंग्ल्यान्डकै क्लब चेल्सीका रक्षक थियागो सिल्भा पनि यो खेलका लागि तयार छन् । उता अर्जेन्टिना र पाराग्वेबीचको खेल अत्यन्तै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । गएको कोपा अमेरिकामा अर्जेन्टिनाले पाराग्वेलाई हराएको थियो । तर त्यसअघिका चार खेलमध्ये एकमा मात्रै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विजयी बनेको थियो ।
पाराग्वेका प्रशिक्षक एडुवार्डो बेरिज्जोले मेस्सी र उनका साथीहरुलाई रोक्नका लागि आफूले पाँच रक्षक खेलाउने बताएका छन् । बेरिज्जोको यस्तो चेतावनीका बाबजुद पनि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भने आत्मविश्वासी देखिएका छन् ।
गत जुलाईमा कोपा अमेरिका जितेको अर्जेन्टिना विश्वकप छनौटका कुनै पनि खेलका लागि नडराएको बताइरहेका छन्, स्कालोनी । ‘कोपा जितेको टिमका ९० प्रतिशत खेलाडी विश्वकप छनौटका लागि निर्माण गरिएको टिमको हिस्सा बनेका छन् । खेलाडीहरुबीच संयोजन छ । यसकारण हामी डराएका छैनौँ,’ स्कालोनीले भनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया