फुटबल

न्युकासल युनाइटेडमा साउदी अरबको प्रवेश किन विवादित ?

इकागज |
असोज २२, २०७८ शुक्रबार १६:१७ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा ठूला क्लबहरूमध्येको एक हो, न्युकासल युनाइटेड । बिहीबार अबेरसम्म यो क्लबका मालिक माइक आस्ले थिए । आस्ले करिब १४ वर्षसम्म न्युकासलको मालिकका रुपमा रहे । तर आस्लेसँग न्युकासलका समर्थकको सम्बन्ध कहिल्यै पनि समुधुर रहेन । आस्लेले क्लबको आम्दानी कुम्ल्याएको तर आवश्यक अनुसारको लगानी नगरेको भनेर समर्थकले आरोप लगाइरहे । 

अब भने न्युकासलका समर्थकले राहत महशुस गरेका छन् । न्युकासलको स्वामित्व साउदी अरब सरकार मातहतको पब्लिक इन्भेष्टमेन्ट फन्ड (पीआईएफ) नेतृत्वको समूहले लिएको छ । न्युकासल समर्थकको आशा छ, अब टिम बलियो बन्नेछ । विश्व प्रसिद्ध स्टार न्युकासलसँग आबद्ध हुनेछन् । र, न्युकासलले प्रिमियर लिगका अन्य ठूला क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 


आस्लेले अप्रिल, २०२० मै न्युकासल बिक्रि गर्ने सहमति गरेका थिए । मूल्यमा पनि लगभग सहमति भइसकेको थियो । पीआईएफ त्यसबेला पनि करिब ३० करोड पाउन्ड तिर्न तयार भएको थियो । तर त्यसबखत बिक्रि प्रक्रिया बीचमै अवरुद्ध भयो । जसले न्युकासलका समर्थकलाई निराश बनायो । किनभने उनीहरू चाहन्थे साउदीले न्युकासल खरिद गरोस् । 

हुन त बीचमा आस्लेले न्युकासलको स्वामित्व बेच्ने प्रयास नगरेका होइनन् । तर मूल्यमा कुरा नमिल्दा कयौँ लगानीकर्ता ‘नेगोसिएसन’बाट बाहिरिए । अन्ततः आस्लेले तोकेकै मूल्य तिर्न तयार भएर आइपुग्यो, पीआईएफ । आस्लेले न्युकासल खरिदका लागि सन् २००७ मा १३ करोड ४० लाख खर्च गरेका थिए । 

न्युकासलको नयाँ मालिक को हुन् ? 

न्युकासलमा ८० प्रतिशत शेयर पीआईएफको रहनेछ । बाँकी २० प्रतिशत शेयर भने दुई फरक समूहको नाममा हुनेछ । १० प्रतिशत शेयर अमान्डा स्टाभेले र उनको श्रीमानको नाममा रहनेछ । न्युकासल खरिदका लागि उनले विगत चार वर्षदेखि प्रयास गरिरहेकी थिइन् । उनले नै न्युकासलमा पीआईएफलाई भित्र्याएकी हुन् । 

यसैगरी, डेभड रेउबेन र सिमोन रेउबेनले संयुक्त रुपमा १० प्रतिशत शेयर खरिद गरेका छन् । न्युकासलका समर्थक खुशी हुनुको मुख्य कारण चाहिँ, पीआईएफ नै हो । तर यही पीआईएफका कारण न्युकासल बिक्रि प्रक्रिया झन्झटिलो पनि भयो । 

न्युकासलमा हुने सम्भावित परिवर्तन ? 

न्युकासल जारी प्रिमियर लिगको अंक तालिकामा पुच्छारबाट दोस्रोमा छ । गत सिजन र त्यसभन्दा अगाडिका सिजनहरूमा जस्तै यसपालि पनि न्युकासलमा अनकौँ समस्या देखिएका छन् । मुख्य समस्या, टिम कमजोर हुनु हो । प्रशिक्षक स्टिभ ब्रुसप्रति अधिकांश समर्थकको नकारात्मकता अर्को समस्या हो । दैनिक अभ्यासका लागि अपर्याप्त पूर्वाधार, लगानीविहिन एकेडेमी लगायतका अन्य समस्या पनि छन् । 

यी समस्या समाधानका लागि नयाँ नेतृत्व तयार देखिएको छ । आवश्यक कदम क्लबको अवस्थाबारे पूर्ण अध्ययन गरेपछि मात्रै चालिने बताइएको छ । क्लबको दैनिक क्रियाकलापको नेतृत्व लिने अमान्डाले तत्कालका लागि समर्थकसँगको ‘इन्गेजमेन्ट’ बढाउने बताएकी छन् । यो आफैँमा सकारात्मक सुरुवात हुनसक्छ । न्युकासलका लोकप्रिय पूर्वखेलाडी एलन शियरर र केभिन किगनसँग त क्लबले छलफल सुरु गरिसकेको छ ।

प्रशिक्षक स्टिभ ब्रुसको भविष्य ? 

ब्रुस न्युकासलको प्रशिक्षकमै रहने वा नरहने भन्ने टुंगो छैन । उनी तत्कालै बर्खास्तीमा नपर्न सक्छन् । तर दिर्घकालिन रुपमा भने उनी न्युकासलमा रहिरहने सम्भावना छैन । उसै पनि न्युकासल समर्थक ब्रुस क्लबबाट हटुन् भन्ने चाहन्छन् । 

ब्रुस तत्काल हटुन् वा नहटुन्, अंक तालिकामा क्लबको स्थानमा सुधार हुन भने जरुरी छ । आगामी खेलहरूमा न्युकासलले पर्याप्त अंक बटुल्न सकेन भने, न्युकासलको नयाँ प्रशासनले गर्नसक्ने भनेको ब्रुसको बर्खास्ती नै हो । त्यस्तो अवस्थामा बु्रसको स्थानमा उनकै सहायक ग्राएम जोन्सलाई बढुवा गरिनेछ । 

ब्रुस न्युकासल पुग्नुअघि त्यहाँको प्रशिक्षक राफाएल बेनिटेज थिए । जो क्लब सर्थकमाझ निकै लोकप्रिय थिए । त्यसबेला अमान्डाले क्लब खरिद गरेको भए, बेनिटेज नै प्रशिक्ष रहिरहन्थे । हाल बेनिटेज एभरटनमा छन् । बेनिटेज अहिले पनि खाली भएको भए, उनलाई न्युकासलले प्रस्ताव राख्ने सम्भावना रहन्थ्यो । 

कुनैबेला अमान्डाले योजना बनाएकी थिइन्, न्युकासल खरिद गरेपछि माउरिसियो पाचेटिनो वा मिकेल आर्टेटालाई प्रशिक्षक बनाउने । तर हाल दुवै प्रशिक्षक न्युकासलसँग जोडिने अवस्था छैन । यस्तोमा, न्युकासलको नयाँ मालिकहरूका अगाडि दुई चुनौती छन्, क्लबलाई तत्कालै रेलिगेसन क्षेत्रबाट माथि लैजाने र नयाँ प्रशिक्षकको खोजी गर्ने । 

के न्युकासलको टिममा खेलाडी थपघट हुन्छ ? 

युरोपको ‘ट्रान्सफर विन्डो’ अब जनवरी नलागी खुल्दैन । त्यसअघि न्युकासलको टिममा परिवर्तन सम्भव छैन । तर क्लबविहिन रहेका ‘फ्रि–एजेन्ट’ खेलाडी भने न्युकासलले अनुबन्ध गर्नसक्छ । 

के अनुमान गर्न सकिन्छ भने, अब खुल्ने सरुवा बजारमा न्युकासलले व्यापक खर्च गर्नेछ । अबका केही वर्ष न्युकासलले सरुवा बजारमा निरन्तर खर्च गर्नेछ । युरोपियन क्लब फुटबलमा स्थापित रहेका खेलाडीहरू नै न्युकासलको नजरमा पर्नेछन् । सामाजिक सञ्जालमा न्युकासल तथा अन्य इंग्लिस क्लबका समर्थक किलियान एमबाप्पे, फिलिप्पे काउटिन्हो जस्ता खेलाडीले न्युकासलको जर्सी लगाएको पोस्टर बनाइरहेका छन् । भलै यो ठट्टामा गरिएको होस्, यसले न्युकासलको भविष्यको कस्तो हुनेवाला छ भनेर गरिएको अनुमान हो । 

उसो त गत वर्ष अमान्डाले आफूहरूको समूहले न्युकासलमा तत्कालै २५ करोड पाउन्ड खर्च गर्ने बताएकी थिइन् । यस्तो खर्च एकैपटकमा नभई सुरुवाती वर्षहरूमा गरिने उनको भनाइ थियो । फेरि खर्च नयाँ खेलाडीमाथि मात्र नभएर पूर्वाधारमा पनि गरिने उनले बताएकी थिइन् । 

यद्यपि न्युकासलले मनलाग्दी खर्च भने गर्न पाउने छैन । क्लबहरूलाई वित्तिय अनुशासनमा राख्न ल्याइएको फाइनान्सियल फेयर प्ले (एफएफपी) को दायरा भित्र रही न्युकासलले खेलाडी किनबेच गर्नुपर्नेछ । तर तत्कालका लागि न्युकासलले ठूलै खर्च गर्न पाउँछ । किनभने आस्लेको नेतृत्वमा न्युकासलले असाध्यै थोरै खर्च गर्दै आइरहेको थियो । यसकारण उ अहिले नै एफएफपीसँग डराउनु पर्ने अवस्थामा छैन । 

जनवरीसम्ममा क्लबले भएकै खेलाडीबाट राम्रो प्रदर्शन गर्न सक्छ भन्नेम नयाँ प्रशासन ढुक्क जस्तै देखिएको छ । स्ट्राइकर क्यालुम विल्सन र गोलरक्षक मार्टिन डुब्राका चोटमुक्त भएका कारण टिमको प्रदर्शनमा सुधार आउने अपेक्षा राखिएको छ । 

पीआईएफको संलग्नता किन विवादित भएको ? 

पीआईएफ साउदी अरब सरकार मातहतको लगानी कोष हो । पीआईएफ साउदी अरब सरकारकै अंश भएकाले उसले न्युकासलको बहुमत शेयर खरिद गर्दा विवाद उत्पन्न भएको हो । विवादको एउटा कारण पीआईएफ आफैँ नभएर साउदी अरब सरकार हो । जो मानव अधिकारका विषयमा निरन्तर आलोचित भइरहेको छ । अक्टोबर, २०१८ मा साउदीका पत्रकार जमाल खसोगीको हत्या भएपछि एमनेस्टी इन्टरनेसनल जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले साउदी सरकारमाथि प्रश्न उठाउँदै आएका छन् ।  

मानव अधिकारको विषयबाहेक न्युकासलको स्वामित्व लिने प्रक्रियालाई पाइरेसीको मुद्धाले पनि विवादित बनाएको हो । यो मुद्धा कतारको बिन स्पोर्स्टसँग जोडिएको छ । बिनमा साउदीको छिमेकी तथा पछिल्लो समयको प्रतिद्वन्द्वी कतारको लगानी छ । खाडीका लागि प्रिमियर लिग प्रशारण अधिकार यही बिनसँग छ । 

केही वर्षअघि कतारमाथि नाकाबन्दी लगाएको साउदीले बिनलाई आफ्नो भूमिमा प्रतिबन्ध लगायो । यसो हुँदा साउदीमा प्रिमियर लिग प्रशारण नहुने अवस्था आयो । साउदीकै बीआउटक्यु नाम गरेको टेलिभिजन च्यानलले अनधिकृत रुपमा प्रिमियर लिग प्रशारण गर्न सुरु गर्‍यो । त्यसपछि कतार सरकार र बिनले आरोप लगाए, बीआउटक्युले पाइरेसी गर्‍यो । प्रिमियर लिगले यस विषयमा साउदी सरकारको ध्यानआकर्षण गरायो । 

पीआईएफले न्युकासलको बहुमत शेयर किन्ने भएपछि पाइरेसीको विषय फेरि उठ्यो । जसकारण विवाद सिर्जना भयो । तर बिनलाई साउदी भूमिमा प्रशारण अनुमति दिइएपछि यो समस्या समाधान भएको छ । अब प्रिमियर लिग, च्याम्पियन्स लिग, युईएएफए तथा फिफाले सञ्चालन गर्ने सबै प्रतियोगिताहरू साउदी भूमिमा आधिकारिक रुपमा प्रशारण हुनेछन् । साउदी सरकारले पाइरेटेड च्यानलहरूलाई प्रतिबन्ध गर्ने निर्णय पनि गरिसकेको छ । दी एथ्लेटिकको सहयोगमा
 


Author

थप समाचार
x