साफ च्याम्पियनसिपमा बलियो सुरुवातका बाबजुद नफुर्किएको नेपाल
आत्मविश्वासी देखिनु पर्ने दबाबमा भारत
काठमाडौँ- साफ च्याम्पियनसिपको सदाबहार दाबेदार हो, भारत । तर यसपालि भने उसको सुरुवात अपेक्षा अनुसारको हुन सकेको छैन । सुरुवाती दुई खेलमा भारत बराबरीमा रोकिएको छ । उसलाई पहिलो खेलमा बंगलादेशले १-१ को बराबरीमा रोक्यो । दोस्रो खेलमा श्रीलंकाले गोल गर्न दिएन ।
अंक तालिकामा भारत दुई अंकका चौथो स्थानमा छ । साफ च्याम्पियनसिपमा नेपाल भने भारतभन्दा फरक अवस्थामा छ । अब्बदुल्लाह अल्मुताइरीको प्रशिक्षणमा खेलिरहेको नेपाली टिम शीर्षस्थानमा छ । उद्घाटन दिनको खेलमा आयोजक माल्दिभ्सलाई स्तब्ध बनाएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई पन्छायो ।
अंक तालिकाले नेपाललाई मालेमा जारी च्याम्पियनसिपको सबैभन्दा बलियो टिम ठहर गरेको छ । तर प्रतियोगिता बीच बाटोमै रहेकाले नेपाल अंक तालिका हेरेर फुर्किने बेला भएको छैन भन्छन् अल्मुताइरी । उनका अनुसार अझैँ पनि भारत नै साफ च्याम्पियनसिपको सबैभन्दा बलियो दाबेदार हो । यही ‘बलियो’ भारतसँग नेपालले आइतबार प्रतिस्पर्धा गर्दैछ ।
‘मालेमा हामीले केही जितिहालेका छैनौँ । साफ च्याम्पियनसिपको फाइनल नै पनि पुगेका छैनौँ । अझैँ दुई खेल खेल्न बाँकी छ । भोलि हामी भारतसँग खेल्दैछौँ । भारत यो क्षेत्रको सर्वाधिक बलियो टिम हो । साफ च्याम्पियनसिप उपाधिको बलियो दाबेदार पनि भारत नै हो । यो त इतिहासले पनि भन्ने कुरा हो,’ शनिबारको प्रि-म्याच कन्फ्रेन्समा अल्मुताइरीले भने, ‘यसकारण भोलिको खेल भारतले नै जित्ने सम्भावना छ । म भन्छु, भारतको खेल जित्ने सम्भावना ९५ प्रतिशत छ । चार प्रतिशत सम्भावना बराबरीको छ । नेपालको जित सम्भावना भने एक प्रतिशत मात्र छ ।’
माले पुगेदखि नै अल्मुताइरी संयमित देखिएका छन् । प्रत्येक पत्रकार सम्मेलनमा उनले एउटै भनाइ दोहोर्याइरहेका छन्, नेपालले अझैँ लामो बाटो तय गर्नुछ । उनी नेपाली समर्थकलाई पनि सन्देश दिइरहेका छन्, अति उत्साहित नबनौँ ।
कप्तान किरण कुमार लिम्बुले बलियो भारतीय टिमविरुद्ध आफूहरू अन्तिम क्षणसम्म लड्न तयार रहेको बताए । ‘हामीले साफ च्याम्पियनसिप जित्ने सपना देखेका छौँ । यो सपना पूरा गर्न हामी एक एक पाइला गर्दै अघि बढिरहेका छौँ । भारतविरुद्ध हामी लड्न तयार छौँ । हामी अन्तिम मिनेटसम्म पनि प्रतिस्पर्धामा रहनेछौँ । हामी उनीहरुसँग डराएका छैनौँ । हामी यो प्रतियोगिताको अन्डरडग हौँ,’ गोलरक्षक किरणले भने ।
उता भारतीय प्रशिक्षक इगोर स्टिमचले जारी साफ च्याम्पियनसिपमा नेपाल शीर्षस्थानमा रहन लायकको टिम रहेको प्रतिक्रिया दिए । नेपालले राम्रो प्रदर्शन गरिरहेको स्विकार गर्दै स्टिमचले आइतबारको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरे । केही समयअघि काठमाडौँमा मैत्रीपूर्ण खेल खेलेकाले पनि नेपालबारे आफूहरुसँग पर्याप्त जानकारी रहेको स्टिमचको भनाइ थियो ।
‘हामीले केही समयअघि मैत्रीपूर्ण खेल खेलेका थियौँ । यसकारण हामी परिचित छौँ । हाम्रो लक्ष्य जित नै हुनेछ । जितबाहेकको विकल्प छैन । मैत्रीपूर्ण श्रृंखलामा हामीले एक जित र एक बराबरी खेलेका थियौँ । भोलिको खेल पनि हामीले जित्न सक्छौँ । तर हामीले पछिल्ला खेलमा भन्दा राम्रो प्रदर्शन भने गर्नुपर्छ,’ स्टिमचले भने ।
पछिल्ला दुई खेलमा गोलका मौका खेर फाल्दा बराबरीमा चित्त बुझाउनु परेको स्टिमचको भनाइ थियो । सुरुवात जितबाट गर्न नसके पनि आफूहरुमा च्याम्पियन बन्ने आत्मविश्वास रहेको स्टिमचको प्रतिक्रिया थियो । ‘लिग चरणका अझैँ दुई खेल बाँकी छन् । हाम्रा लागि केही फेरिएको छैन । छ अंक बटुलेर हामी फाइनल पुग्न सक्छौँ । हामी जसरी हुन्छ साफ च्याम्पियनसिप जित्न चाहन्छौँ । यस्तो लक्ष्य अत्यन्तै कम अंक बटुलेर भए पनि पूरा गर्न चाहन्छौँ,’ स्टिमचले भने ।
नेपालले छ अंक हासिल गरिसकेकाले आफूहरूविरुद्ध फरक रणनीति अपनाउन सक्ने अनुमान स्टिमचको थियो । नेपाल काउन्टर अट्याकमा खतरनाक रहेकाले यही रणनीति भारतीय टिमसँगको खेलमा प्रयोग गर्नसक्ने बताउँदै स्टिमचले भने, ‘नेपालले जस्तो सुकै रणनीति बनाए पनि हाम्रो लक्ष्य जित नै हुनेछ । हामी डराएका छैनौँ । पहिलो मिनेटबाटै हामी आक्रामक फुटबल खेल्नेछौँ । आशा छ मेरा खेलाडीहरुले अघिल्ला खेलहरुमा जस्तो गल्ती गर्ने छैनन्,’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया