फुटबल

एमबाप्पेलाई लिएर पीएसजी र रियलको लडाइँ

इकागज |
असोज २४, २०७८ आइतबार १५:४५ बजे

काठमाडौँ- गत महिना रियल म्याड्रिडले किलियान एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयास गर्‍यो । रियलले राखेको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी)ले तुरुन्तै इन्कार गर्‍यो । रियलतर्फका स्थान्तरण सफल हुन नसके पनि एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता गरिहालेका छैनन् । एमबाप्पे जारी सिजनको अन्त्यमा ‘फ्रि–एजेन्ट’ हुँदैछन् । 

यस्तोमा रियलले आउँदो ‘समर ट्रान्सफर विन्डो’मा एमबाप्पेलाई स्थान्तरण रकम नतिरी अनुबन्ध गर्ने सम्भावना बलियो छ । यद्यपि पीएसजीले एमबाप्पेलाई सम्झौता नवीकरणका लागि मनाउने भरमग्दुर प्रयास गरिरहेको छ । विश्वकप विजेता युवा फरवार्ड एमबाप्पेका लागि दुई धनी क्लबबीचको लडाइँ सजिलै अन्त्य हुने देखिएको छैन । 


यसैबीच पीएसजीका निर्देशक लियोनार्दोले रियलप्रति आक्रोश पोखेका छन् । पीएसजीको अनुमति नलिकनै रियलले एमबाप्पेलाई सम्पर्क गरेको र सम्भावित स्थान्तरणका लागि छलफल गरेको आरोप लियोनार्दोले लगाएका छन् । यसरी गैर कानुनी कार्य गरेकोमा रियललाई कारबाही गरिनुपर्ने माग पनि लियोनार्दोले राखेका छन् । 

‘रियल एमबाप्पेलाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्न चाहन्छ । उसले खुल्लमखुल्ला एमबाप्पेलाई सम्पर्र्क र छलफल गर्ने कार्य गरिरहेको छ । पछिल्लो दुई वर्षदेखि उसले यस्तो गरिरहेको छ । यसो गरेवापत रियललाई कारबाही गरिनु पर्छ । रियलका प्रशिक्षक तथा खेलाडीले पनि एमबाप्पेबारे कुरा गरिरहेका छन् । यो पीएसजीप्रतिको अनादर हो,’ लियोनार्दोले भनेका छन् । उनले पटक पटक रियलप्रति आक्रोश पोख्दै आएका छन् । 

रियलका कप्तान करिम बेन्जेमा, टोनी क्रुस लगायतका खेलाडीहरूले एमबाप्पेका विषयमा सार्वजनिक रुपमा टिप्पणी गर्दै आइरहेका छन् । फ्रान्सका बेन्जेमाले त एमबाप्पे कुनै न कुनै दिन रियलको खेलाडी हुने अभिव्यक्ति दिएको थिए । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले त आगामी जनवरीमा एमबाप्पे रियलसँग आबद्ध हुने विश्वास व्यक्त गरेका छन् । 

एम्बाप्पेलाई आफ्नो बनाउन रियलले निरन्तर प्रयास गरिरहे पनि उता पीएसजीले युवा फरवार्डलाई पेरिसमै राख्‍ने आशा मारिसकेको छैन । हालै एमबाप्पेकी आमाले पनि सम्झौता नवीकरणका लागि पीएसजीसँगको छलफल सकारात्मक ढंगले अघि बढिरहेको बताएकी छन् । 


Author

थप समाचार
x