फुटबल

फ्रान्सबाट डेब्यु गरेको १४ वर्षपछि बेन्जेमाले जिते उपाधि

इकागज |
असोज २५, २०७८ सोमबार १२:५५ बजे

काठमाडौँ- विश्वकप विजेता फ्रान्सले आइतबार राति नेसन्स कप जितेको छ । मिलानको सान सिरोमा भएको उपाधि भिडन्तमा १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले स्पेनलाई २–१ ले पराजित गर्‍यो । किलियान एमबाप्पेले ८० औँ मिनेटमा गोल गरेपछि फ्रान्सको जित निश्चित भयो । 

सान सिरोमा स्पेनले ६४ औँ मिकेल ओयार्जबलको गोलमार्फत अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै फ्रान्स खेलमा फर्कियो । फ्रान्सका लागि करिम बेन्जेमाले बराबरी गोल फर्काएका थिए । 


बेन्जेमाले फ्रेन्च राष्ट्रिय टिमबाट जितेको यो नै पहिलो उपाधि हो । कयौँ वर्ष राष्ट्रिय टिममा नपरेका बेन्जेमा गत युरो २०२० का लागि डिडियर डेस्चाम्प्सको रोजाइमा परेका थिए । त्यसपछि बेन्जेमा निरन्तर फ्रेन्च टिममा परिरहेका छन् । 

‘हामीले राम्रो खेल देखायौँ । च्याम्पियन बन्ने उदेश्यका साथ नै हामीले खेलको सुरुवात गरेका थियौँ । र, सफल पनि भयौँ । फ्रान्सको जर्सीमा मैले पहिलो पटक उपाधि जितेको हो । व्यक्तिगत रुपमा म असाध्यै खुशी छु । अनि टिमका लागि पनि,’ बेन्जेमाले भने ।

यसअघि फ्रान्सको अण्डर–१७ बाट युरोपियन च्याम्पियनसिप जितेका बेन्जेमाले सिनियर टिमबाट उपाधि जितेका थिएनन् । यद्यपि क्लब फुटबलमा उनले उनले लियोन र रियल म्याड्रिडमा गरी कुल २८ उपाधि जितेका छन् । 

नेसन्स कपको उपाधि भिडन्तमा पछि परेपछि स्पेनका प्रशिक्षक लुइस एनरिकेले घुमाउरो तरिकाले रेफ्रीप्रति असन्तुष्टि पोखे । ‘हुन त म कहिल्यै पनि रेफ्रीको आलोचना गर्दिन । किनभने रेफ्रीले के निर्णय दिन्छन् त्यसलाई म परिवर्तन गराउन सक्दिन । यो खेलमा रेफ्रीले जे–जस्तो निर्णय दिए, त्यसमा मलाई केही भन्नु छैन,’ एनरिकेको भनाइ थियो । एमबाप्पेको गोल अफसाइड भएको दाबीमा आधारित रहेर एनरिकेले यस्तो प्रतिक्रिया दिएका हुन् । 
  
   
 


Author

थप समाचार
x