आलोचनाले थाकेका नेयमार भन्छन्, कतार विश्वकपपछि नखेल्न सक्छु
काठमाडौँ- ब्राजिलका नेयमारले २०२२ विश्वकप उनको करियरकै अन्तिम विश्वकप हुनसक्ने बताएका छन् । डाजोनले बनाइरहेको ‘नेयमार एन्ड दी लाइन अफ किंग्स’ नाम गरेको वृत्तचित्रमा नेयमारले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘सायद कतार विश्वकप नै मेरा लागि अन्तिम विश्वकप हुनेछ । मलाई थाहा छैन, भविष्यमा म मानसिक रुपमा फुटबल खेल्न कति तयार हुन्छु । यसकारण २०२२ विश्वकपमा म आफ्नो सपना पूरा गर्न भरमग्दुर प्रयास गर्नेछु । सपना भनेको विश्वकप विजेता हुने हो । बाल्यकालकै सपना हो, विश्वकप जित्ने । करियर सिध्याउनुअघि नै देशका लागि विश्वकप जित्नुछ,’ नेयमारले भनेका छन् ।
ब्राजिलका २९ वर्षिय फरवार्डमाथि बनिरहेको वृत्तचित्रका केही झलक डाजोनले आइतबार ट्वीटरमार्फत सार्वजनिक गरेको थियो ।
पछिल्लो समय नेयमार ब्राजिलमा आलोचित बनिरहेका छन् । आफ्नो स्तर अनुसारको खेल देखाउन नसकेको, फिटनेस राम्रो नभएको लगायतका आरोप ब्राजिलका समर्थकले नेयमारमाथि लगाउँदै आइरहेका छन् । विश्वकप छनौट अन्तर्गत गत सेप्टेम्बर १० मा भएको पेरुविरुद्धको खेलमा नेयमारले एक गोल गरेका थिए भने अर्को गोलका लागि असिस्ट पनि दिएका थिए । तर जितका बाबजुद पनि नेयमारको आलोचना गरियो । ‘मैले के गरे भने चाहिँ मेरो आलोचना हुँदैन र मलाई सम्मान देखाइन्छ भनेर सोच्छु,’ नेयमारले भनेका छन् ।
नेयमारले ब्राजिलका लागि ६९ गोल गरिसकेका छन् । उनी पेलेको सर्वाधिक गोलको कीर्तिमान नजिक छन् । विश्वकप छनौटमा सर्वाधिक गोल गर्ने रोमारियाको कीर्तिमान समेत नेयमारले भंग गरिसकेका छन् ।
नेयमारले ब्राजिलको जर्सीमा दुई विश्वकप खेलेका छन् । सन् २०१४ मा आफ्नै भूमिमा भएको विश्वकपको क्वार्टरफाइनल दौरान नेयमार घाइते बनेका थिए । नेयमारविनाको ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग सात गोल खाएको थियो । पछिल्लो विश्वकपमा पनी नेयमार र ब्राजिलको यात्रा अपेक्षा गरे अनुसारको रहेन । ब्राजिलले बेल्जियमसँग क्वार्टरफाइनलमा हार बेहोरेको थियो ।
नेयमारले अहिलेसम्म ब्राजिलबाट जितेको भनेको कन्फेडेरेसन कप मात्रै हो । ब्राजिलले सन् २०१९ मा कोपा अमेरिका जित्दा नेयमार टिममा थिएनन् । नेयमारले रियो ओलम्पिकमा पुरुष फुटबलतर्फ स्वर्ण जितेका छन् । तर ओलम्पिकमा जितेको पदक राष्ट्रिय टिमका लागि जितेको पदकका रुपमा गनिँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया