कोभिड खोप नलगाएका कारण ब्राजिलका राष्ट्रपति रंगशाला छिर्न पाएनन्
काठमाडौँ- ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले कोभिड–१९ प्रोटोकलका कारण आफूले फुटबल खेल हेर्न नपाएको दाबी गरेका छन् । आइतबार ब्राजिलियन लिग अन्तर्गतको सान्तोस र ग्रमियोबीचको खेल हेर्न आफू रंगशाला जान चाहेको तर प्रवेश नपाइने डरले आफू त्यहाँ जान नसकेको बोलसोनारोको दाबी थियो ।
ब्राजिलमा कोभिड–१९ विरुद्धको खोप नलगाएको व्यक्तिलाई रंगशाला प्रवेशमा प्रतिबन्ध लगाइएको छ । बोलसोनारोले खोप लगाएका छैनन् । यही कारण उनी रंगशाला जान नपाएकोमा असन्तुष्ट देखिए ।
‘म सान्तोसको खेल हेर्न चाहन्थे । तर म रंगशाला जान सकिन । खोप नलगाएकाले मलाई प्रवेश गर्न नदिने बताइयो । यो कस्तो नियम हो ? किन चाहियो भ्याक्सिन पासपोर्ट ?,’ बोलसोनारोले प्रश्न गरे । उता सान्तोसले भने बोलसोनारोले खेल हेर्न आउने जानकारी नदिएको बताएको छ ।
ब्राजिलियन लिग सिरी ए का खेल हेर्न चाहनेले खोप लगाएको प्रमाण पेश गर्नुपर्ने नियम छ । ब्राजिलमा कोभिड महामारी नियन्त्रणमा नआइसकेकाले यस्तो नियम लगाइएको हो । ब्राजिलियन स्वास्थ्य मन्त्रालयले रंगशालामा करिब ३० प्रतिशतसम्म दर्शक राख्ने अनुमति दिएको छ ।
ब्राजिलियन स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडका कारण ज्यान गुमाउनेको संख्या ६ लाख नाघिसकेको छ । कोभिड महामारी नियन्त्रणमा असफल भएको भन्दै बोलसोनारोमाथि हाल छानबिन चलिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया