फिफा र युईएफएको ध्यान पैसामा छ, खेलाडीको हकहितमा छैनः गोलरक्षक कोर्टुवा
काठमाडौँ- बेल्जियम तथा रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले विश्व फुटबल नियामक निकाय फिफा र युरोपियन फुटबल महासंघ (युईएफए)को ध्यान पैसामा मात्रै रहेको आरोप लगाएका छन् । नेसन्स कपमा तेस्रो स्थानका लागि भएको खेलपछि बोल्दै कोर्टुवाले फिफा र युईएफए जसरी हुन्छ धेरै पैसा कमाउने ध्येयमा रहेको दाबी गरे ।
‘फुटबललाई पैसाको खेलमा परिणत गरिएको छ । हामीलाई धेरै भन्दा धेरै खेल खेलाएर पैसा कमाउने ध्येयमा छ, युईएफए,’ कोर्टुवाले भने । कोर्टुवा सम्मिलित बेल्जियम नेसन्स कपको सेमिफाइनल पुगे पनि तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा इटालीसँग पराजित भयो ।
युईएफले पछिल्लो समय ल्याएको कन्फ्रेन्स लिग र प्रत्येक दुई–दुई वर्षमा विश्वकप आयोजना गर्ने फिफाको योजना पनि फुटबलको विकासका लागि भन्दा पैसा कमाउनका लागि भएको कोर्टुवाको भनाइ थियो ।
‘सुपर लिगका विषयमा युईएफए आक्रोशित भयो । तर उ आफैँ पनि खेलाडीबारे सोच्दैन । उसको ध्यान खल्ती भर्नेतर्फ मात्र छ,’ कोर्टुवाले भने, ‘कुनै पनि छलफलमा खेलाडीको प्रतिनिधित्व छैन । हाम्रोबारे कसैले सोचेको छैन । सबै निकायको ध्यान पैसामा मात्र छ । अब फिफाको योजना अनुसार हामीले एक वर्षको फरकमा युरो कप र विश्वकप खेल्नुपर्नेछ । यस्तोमा हामीले कहिले आराम पाउने?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया