फुटबल

राष्ट्रिय महिला फुटबल लिग छनौटमा एकै दिन ३१ गोल

इकागज |
कात्तिक ४, २०७८ बिहीबार २०:१९ बजे

काठमाडौँ - बिहीबारबाट सुरु उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगितामा बागमती नगरपालिका, कन्काई नगरपालिका र कालिका नगरपालिकाले जित दर्ता गरेका गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोमा रहेकाे मैदानमा भएका खेलहरूमा तीन वटै टिमले भारी अन्तरको जित हासिल गरे । 

पहिलो खेलमा बागमतीले महालक्ष्मी नगरपालिकामाथि ९–० को विजय प्राप्त गर्‍यो भने अर्को खेलमा कन्काईले गोदावरी नगरपालिकालाई १२–० अन्तरले पन्छायो । त्यसैगरी दिनको तेस्रो खेलमा कालिकाले कागेश्वरी नगरपालिकामाथि १०–० को जित दर्ता गर्‍यो । 


राष्ट्रिय खेलाडीहरुले सुसज्जित बागमतीको जितमा रश्मी कुमारी घिसिङले मात्रै पाँच गोल गरिन् । रश्मी जस्तै राष्ट्रिय खेलाडी नै रहेकी रेनुका नगरकोटीले दुई गोल थपिन् भने सदिमा ब्लोन र अनु राईको नाममा एक–एक गोल रह्यो । 

गोलको वर्षा भएको अर्को खेलमा कन्काईका लागि कुसुम खतिवडा एक्लैले ६ गोल गरिन् । विजयी टिमकी कप्तान रहेकी लक्ष्मी श्रेष्ठले चार गोल गरिन् भने मनिका तुमरुक र इमा राईले एक–एक गोल गरे । 

एन्फा मैदानमै भएको अर्को खेलमा कालिकाको जितमा अनुस्का शेर्पाले चार गोल गरिन् । कालिकालाई फराकिलो जित दिलाउन सम्झना तामाङ र सविता राना मगरले समान दुई–दुई गोल गरे । यसैगरी, सुनकला राई र प्रिती राईको नाममा एक–एक गोल रह्यो । 

यस छनौट प्रतियोगितामा कुल ३१ टिमको सहभागिता छ । यी टिमहरुलाई १० समूहमा बाँडिएको छ । प्रत्येक समूहबाट विजेता र उप–विजेता बन्ने टिम आगामी पुसमा हुने भनिएको राष्ट्रिय लिगका लागि छनौट हुनेछन् । अनि प्रतियोगिता च्याम्पियनले पाँच लाख पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टिमलाई तीन लाख दिइनेछ । 
   


Author

थप समाचार
x