नेपाल र इरान भिड्दै, नेपाली टोलीमा को-को छन् ?
काठमाडौँ- एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा आज (सोमबार) नेपालले बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
फिफा बरियतामा एसियाको शीर्षस्थानमा रहेको इरानविरुद्ध मैदान उत्रिँदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । नेपाल कम्तिमा इरानलाई रोक्ने दाउमा हुनेछ । खेलअघि प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले राम्रो नतिजाको लागि खेल्ने बताएका छन् ।
पछिल्लो दुई संस्करणमा नेपालको प्रदर्शन यस प्रतियोगितामा राम्रो हुन सकेको छैन । खेलेका ६ खेलमा हार ब्यहोरेको नेपालले कुनै पनि गोल गर्न सकेको छैन ।
यसपटक राष्ट्रिय टोलीका नियमित ६ र बाँकी पाँच खेलाडी बोकेर ताजकिस्तान उडेको नेपाली टोली उच्च मनोबलकासाथ इरानविरुद्ध खेल्दै छ ।
नेपालले यू-२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५-० ले पराजित गरेको थियो ।
नेपालको समूह ‘बी’को दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान । फिफा बरियतामा ११८औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ ।
यस्तै, तेस्रो प्रतिद्वन्द्वी लेवनानसँग नेपालले १४ गते खेल्नेछ । समूह बिजेता फाइनल चरण छनोट हुनेछ ।
नेपाली २३ टोली :
गोलरक्षक- अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू
मिडफिल्डर- नितिन थापा, सुरजजिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक बिष्ट
स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया