फुटबल

अल्मुताइरीको म्याद तीन वर्ष थप

इकागज |
कात्तिक १०, २०७८ बुधबार १७:५३ बजे

काठमाडौँ- नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गरेका छन् । 

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गरेकाे एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । 


माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पुर्‍याएका अल्मुताइरी त्यतैबाट कुवेत फर्केका थिए । भारतविरुद्ध फाइनल खेल्नुअघि उनले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताएका थिए । 

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीले तीन वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्‍जाल फेसबुकमा पनि लेखेका छन् । उनले छिट्टै आगामी दुई वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्‍जालमार्फत उल्लेख गरेका छन् ।  


Author

थप समाचार
x