बार्सिलोनाको प्रशिक्षक बन्न जाभीलाई प्रस्ताव
काठमाडौँ- स्पेनिस ला लिगामा बुधबार राति बार्सिलोनाले रायो भाएकानोसँग पराजय बेहोर्यो । जारी सिजनमा बार्सिलोनाका लागि यो तेस्रो पराजय थियो । यो पराजयसँगै बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कुमनलाई बर्खास्त गर्ने निर्णय गर्यो । कुमनलाई बर्खास्त गर्ने कारण स्पष्ट थियो, जारी लिगमा बार्सिलोनाको स्थान । भाएकानोसँग हारेसँगै बार्सिलोना १५ अंकका साथ नऔँ स्थानमा छ । बरु भाएकानो भने पाँचौँ स्थानमा उक्लेको छ ।
'एफसी बार्सिलोनाले रोनाल्ड कुमनलाई बर्खास्त गर्ने निर्णय गरेको छ । यसको जानकारी क्लब अध्यक्ष जोआन लापोर्टाले कुमनलाई दिइसकेका छन् । कुमनले खेलाडीहरुसँग बिहीबार अन्तिम भेट गर्नेछन् । बार्सिलोनामा पुर्याएको योगदानवापत कुमनलाई हामी धन्यवाद दिन चाहन्छौँ,’ बार्सिलोनाले भनेको छ ।
कुमनलाई बर्खास्त गरेसँगै बार्सिलोनाले जाभीलाई प्रशिक्षक बन्न प्रस्ताव राखेको छ । बार्सिलोनाका पूर्वमिडफिल्डर तथा कप्तान जाभी हाल कतारी क्लब अल साडको प्रशिक्षक छन् । जाभीलाई प्रस्ताव राखे पनि उनी तत्कालै बार्सिलोनासँग आबद्ध हुन केही प्रक्रिया पूरा गर्नु पर्नेछ ।
जाभीले अल साडसँग जुन, २०२३ सम्मका लागि सम्झौता गरेका छन् । यसकारण उनलाई फुकुवा गर्न अल साडल सजिलै तयार रहन्छ वा रहँदैन भन्ने प्रष्ट छैन । यद्यपि गोल डटकमका अनुसार बार्सिलोनाले अल साडलाई केही रकम तिरेर भए पनि जाभीलाई आफ्नो बनाउन चाहन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया