फुटबल

म्यानचेस्टर युनाइटेडको नजर कोन्टेबाट रोजर्सतर्फ

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार १८:२१ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा गत आइतबार लिभरपुलसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यार दबाबमा छन् । हालका लागि उनको पद सुरक्षित छ भनिएको छ । तर आगामी साताहरूमा युनाइटेडले सकारात्मक नतिजा निकाल्न नसके, सोल्स्यारलाई बिदा गरिने बताइएको छ । 

सोल्स्यार बर्खास्तीमा परेको खण्डमा उनको स्थान कसले लिने भनेबारे अनुमान भइरहेको छ । युरोपियन कलब फुटबलमा स्थापित नाम युनाइटेडसँग जोडिएको छ । यसैबीच लेस्टर सिटीका ब्रेन्डन रोजर्सको नाम पनि चर्चामा छ । लोकप्रिय खेलकुद वेबसाइट ईएसपीएनले लिभरपुलका पूर्वप्रशिक्षक रोजर्स युनाइटेड प्रशासनको नजरमा रहेको दाबी गरेको छ । 


यसअघि इटालियन एन्टोनियो कोन्टे युनाइटेडको प्रशिक्षक बन्‍ने सम्भावना बलियो रहेको बताइएको थियो । सोल्स्यार बर्खास्तीमा परिनसकेको अवस्थामा बेलायती सञ्‍चार माध्यमहरू अनुमान गर्नमा व्यस्त छन् । ईएसपीएनले के पनि दाबी गरेको छ भने, प्रिमियर लिगमा टोटनहम र च्याम्पियन्स लिगमा एटलान्टालाई युनाइटेडले नहराए, सोल्स्यारलाई बिदा गरिनेछ । 

प्रिमियर लिगमा युनाइटेड हाल सातौँ स्थानमा छ । तत्कालै लय नसुधारे युनाइटेड प्रिमियर लिग उपाधि दौडमा पछि पर्ने निश्‍चित छ । यति मात्र होइन, शीर्ष चारमा पर्ने न्यूनतम लक्ष्यमा समेत युनाइटेड सफल नहुन सक्छ । यस्तो अवस्ता नआओस् भन्‍नेबारे युनाइटेड प्रशासन सचेत छ, भनिएको छ ।

युवा खेलाडीलाई मौका दिने र आक्रामक फुटबल खेलाउने परिचय बनाएका कारण रोजर्स युनाइटेडको नजरमा परेको बताइएको छ । लिभरपुललाई सन् २०१४ मा प्रिमियर लिग उप–विजेता बनाएका रोजर्सले लेस्टरलाई गत सिजन एफए कप जिताएका थिए । रोजर्ससँग युनाइटेड प्रशासन आर्कषित भए पनि उनलाई लेस्टरबाट खोस्‍न सजिलो छैन । रोजर्सले सन् २०२५ सम्म किंग पावर स्टेडियममा रहन सम्झौता गरेका छन् । यसकारण, लेस्टरलाई क्षतिपूर्ती तिरेर मात्रै युनाइटेडले रोजर्सलाई आफ्नो बनाउन सक्छ । 

उता कोन्टे पनि युनाइटेडको प्रशिक्षक बन्‍न लालयित रहेको बताइएको छ । तर युनाइटेडभित्र उनीप्रति सकारात्मक धारणा नरहेको ईएसपीएनको दाबी छ । यसको कारण कोन्टेको स्वभाव बताइएको छ । फेरि कोन्टे खर्चालु प्रशिक्षक भएकाले पनि उनलाई प्रशिक्षक बनाउन युनाइटेड हच्केको ईएसपीएनले लेखेको छ । यद्यपि कोन्टेको सम्भावना भने पूर्णरुपमा नसकिएको लेखिएको छ । रोजर्स र कोन्टेबाहेक पेरिस सेन्ट जर्मेन (पीएसजी)का माउरिसियो पोचेटिनो पनि युनाइटेडको नजरमा छन् । 


Author

थप समाचार
x