फुटबल

कौउटिन्हो ब्राजिलको टिममा फर्किए, भिनिसियस जुनियर भने बाहिर

इकागज |
कात्तिक १३, २०७८ शनिबार १२:४७ बजे

काठमाडौँ- बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कौउटिन्होले ब्राजिलको राष्ट्रिय टिमबाट ६३ खेल खेलेका छन् । कुनैबेला ब्राजिलियन टिममा नेयमारका साझेदार रहेका कौउटिन्हो पछिल्लो एक वर्ष भने प्रशिक्षक टिटेको नजरमा परेका थिएनन् । उनलाई अक्टोबर, २०२० यता ब्राजिलको टिममा बोलाइएको थिएन । यसको कारण बार्सिलोनामा कौउटिन्होको लय र चोट पनि हो । 

यस सिजन बार्सिलोनाका लागि खेल्न पाइरहेका कौउटिन्होलाई टिटेले ब्राजिलको टिममा फर्काएका छन् । ब्राजिलले विश्वकप छनौटमा नोभेम्बर १२ र १७ मा कोलम्बिया र अर्जेन्टिनाको सामना गर्दैछ । यी खेलका लागि टिटेले टिम घोषणा गर्दा कौउटिन्हो पनि परेका हुन् । 


‘उनी गोलको मौका सिर्जना गर्न माहिर गर्छन् । पछिल्लो समय उनी बार्सिलोनाका लागि खेलिरहेका पनि छन् । उनको लय पनि सन्तोषजनक देखिएको छ,’ कौउटिन्होबारे टिटेले भनेका छन् । २९ वर्षिय प्लेमेकर कौउटिन्हो ब्राजिलको टिममा पर्दा रियल म्याड्रिडका युवा विंगर भिनिसियस जुनियर भने टिटेको नजरमा परेनन् । एभरटनका फरवार्ड रिचारलिसन पनि यो पटक ब्राजिलको टिममा परेका छैनन् । 

यस्तोमा दक्षिण अमेरिकी टिमको मुख्य फरवार्ड नेयमार नै हुनेछन् । उनलाई लिभरपुलका रोबर्टो फरमिन्हो, लिड्स युनाइटेडका रफिन्हा र म्यानचेस्टर सिटीका गाब्रियल जेजुसले सघाउनेछन् । 

दक्षिण अमेरिकातर्फको विश्वकप छनौटमा ब्राजिल शीर्षस्थानमा छ । उसले ११ खेलमध्ये १० मा जित दर्ता गरेको छ । ब्राजिलले साओ पाओलोमा कोलम्बियाको सामना गर्दैछ भने पाँच दिनपछि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । 


Author

थप समाचार
x