फुटबल

प्रत्येक दुई वर्षमा आयोजना हुने विश्वकपमा सहभागी हुन सकिँदैनः दक्षिण अमेरिकी फुटबल महासंघ

इकागज |
कात्तिक १४, २०७८ आइतबार १५:३६ बजे

काठमाडौँ- विश्व फुटबल नियामक निकाय फिफाले विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्ने योजना अघि सारेको छ । फिफाको यस्तो योजनामाथि व्यापक बहस भइरहेको छ । र, विरोध पनि उत्तिकै हुँदैछ । विशेषगरी युरोपेली फुटबल महासंघ (युईएफए)ले फिफासमक्ष असहमति जाहेर गरेको छ । 

यसैबीच दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल)ले पनि दुई–दुई वर्षमा विश्वकप आयोजना भए त्यसमा आफ्नो सहभागिता नहुने प्रष्ट पारेको छ । कोनमेबोलले आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै भनेको छ, ‘दुई–दुई वर्षमा विश्वकप आयोजना गर्नुको कुनै फाइदा छैन । न त कुनै औचित्य नै छ ।’


गत शुक्रबार कोनमेबोलसँग आबद्ध १० टिमको बैठक बस्यो । र, यी टिमले संयुक्त निस्कर्ष निकाले, ‘फिफाको नयाँ योजनामा सहमत हुन सकिँदैन । यस्तो विश्वकप खेल्न सकिँदैन ।,’

सन् १९३० यता विश्वकप चार वर्षको फरकमा आयोजना हुँदै आएको छ । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध भएको बेलाबाहेक विश्वकप तोकिएकै समयमा आयोजना भएको छ । 

कोनमेबोलमा कुल १० सदस्य टिम छन् । पाँच पटक विश्वकप जितेको ब्राजिल र लियोनल मेस्सीको अर्जेन्टिना पनि कोनमेबोलकै सदस्य हुन् । यी १० वटै टिमले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको योजनामा सहमति जनाउने सम्भावना न्यून छ । 

यद्यपि दक्षिण अमेरिकी टिमहरूलाई सहमत गराउने आशामा इन्फान्टिनो छन् । कोनमेबोलले फिफाको नयाँ योजनाको विरोध गरिरहे भए पनि अफ्रिकी टिमहरूको अभिभावक संस्था सीएएफले भने सकारात्मक संकेत दिइसकेको छ । 


Author

थप समाचार
x