सान्टोलाई बर्खास्त गरेको टोटनहमले कोन्टेलाई प्रशिक्षक बन्न प्रस्ताव राख्यो
काठमाडौँ- इंग्लिस प्रिमियर लिगको टोटनहमले प्रशिक्षक नुनो स्पिरिटो सान्टोलाई सोमबार बर्खास्त गरेको छ । यसअघि प्रिमियर लिगकै उल्भरह्याम्पटनको प्रशिक्षक रहेका पोर्चुगलका सान्टो टोटनहममा करिब चार महिना मात्रै टिके ।
सान्टोलाई हटाएसँगै टोटनहमले एन्टोनियो कोन्टेलाई क्लबको नयाँ प्रशिक्षक बन्न प्रस्ताव राखेको छ । यो बेलायती अखबार दी गार्डियनको दाबी हो । केही वर्षअघि चेल्सीलाई प्रिमियर लिग जिताएका कोन्टे हाल क्लबविहिन छन् । गत सिजन इन्टर मिलानलाई इटालियन सिरी ए च्याम्पियन बनाएका कोन्टेलाई टोटनहमले प्रस्ताव राखेको यो पहिलो पटक होइन ।
जोसे मौउरिन्होलाई बर्खास्त गरेपछि टोटनहमले कोन्टेलाई गत जुनमै प्रशिक्षक बनाउन चाहेको थियो । दुई पक्षबीच केही चरणको छलफल पनि भए । कोन्टेले टोटनहमको जिम्मेवारी लिने लगभग पक्का भएको बताइएको थियो । तर अन्तिममा कोन्टेले आफ्नो निर्णय परिवर्तन गरे । त्यसपछि सान्टो टोटनहमको प्रशिक्षक बनेका थिए ।
टोटनहममा सान्टोको सुरुवात बलियो रह्यो । नयाँ सिजनको सुरुवाती तीन लिग खेलमा टोटनहमले जित हासिल गरेको थियो । सिजनको पहिलो खेलमै टोटनहमले च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । सुरुका तीन लिग जितेको टोटनहमले त्यसपछिका तीन खेल हा¥यो । गत शनिबारको म्यानचेस्टर युनाइटेडविरुद्धको खेल नै सान्टोका लागि टोटनहमका प्रशिक्षकका रुपमा अन्तिम खेल बन्यो ।
सान्टोको प्रशिक्षणमा टोटनहमले कुल १७ खेल खेल्यो । तीमध्ये नौ खेलमा मात्रै टोटनहमले जित हासिल गरेको छ । हाल प्रिमियर लिगमा टोटनहम आठौँ स्थानमा छ । टोटनहमले १५ अंक मात्रै बटुलेको छ । यो चौथो स्थानमा रहेको वेस्टह्यामको भन्दा पाँच अंक कम हो ।
कोन्टेलाई प्रशिक्षक बनाउन इच्छा राख्ने क्लब, टोटनहम मात्र एक्लाे हाेइन । युनाइटेडले समेत कोन्टेमाथि नजर लगाएको छ । तर युनाइटेडले कोन्टेलाई औपचारिक प्रस्ताव राखि हालेको छैन । यस्तोमा टोटनहम कोन्टे आफूतर्फ आर्कषित हुनेमा आशावादी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया