फुटबल

च्याम्पियन्स लिगमा बायर्न र बार्सिलोनाको जित

इकागज |
कात्तिक १७, २०७८ बुधबार ८:३१ बजे

काठमाडौँ- जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोबेर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।  

बार्सिलोनाले युक्रेनी क्लब डिनामो किभलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा दोस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा बायर्नको जितमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्ज गानाब्री र लेरो सानेले १-१ गोल गरे ।


बेन्फिकाका लागि फिलिप मोराटो र डार्विन नुनेजले १-१ गोल गरे ।

घरेलु मैदानमा खेलको २६ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नलाई सुरुवाती अग्रता दिलाए । ३२ मिनेटमा गानाब्रीले २-० को अग्रता बनाए । ३८ मिनेटमा फिलिपले गोल गर्दै बेन्फिकालाई २-१ को अवस्थामा ल्याए । 

यसपछि सानेले ४९ मिनेटमा ३-१ को अग्रता बनाए । लेवान्डोस्कीले खेलको ६१ मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरे ।

डार्विनले गोल गर्दा बेन्फिकाले अग्रता ४-२ मा झारेको छ । खेलको ८४ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५-२ को सानदार जित दिलाए । 

राति नै भएको समूह 'ई' को चौथो राउण्डमा अन्शु फातीको निर्णायक गोलमा ड्यानामोलाई बार्सिलोनाले पराजित गरेको छ ।  

युवा फरवार्ड अन्शुले खेलको ७० मिनेटमा गोल गरेका थिए । बाँकी समय गोल हुन नसक्दा च्याम्पियन्स लिगमा दोस्रो जित निकाल्यो । 

समूहको खेलसँगै ४ खेलका शतप्रतिशत जितसहित १२ अंक बनाएको बायर्न शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । बायर्न २ खेलअघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ । 

बार्सिलोना ४ खेलबाट २ जित र २ हारका साथ ६ अंक बनाएर दोस्रो स्थानमा छ । बार्सिलोनाको भने अन्तिम १६ यात्राको सम्भावना कायम छ । ४ अंक बनाएको बेन्फिका तेस्रो स्थानमा रहँदा डिनामो किभ १ अंकका साथ तालिकाको पुछारमा छ ।


Author

थप समाचार
x