न्युकासलले प्रशिक्षक बन्ने प्रस्ताव राखेको छैन : उनाई एम्री
काठमाडौँ- इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेड नयाँ प्रशिक्षकको खोजीमा छ । नयाँ व्यवस्थापन समूहकाे आगमनसँगै स्टिभ ब्रुसले क्लब छाडेपछि न्युकासलले नयाँ प्रशिक्षक ल्याउन चाहेको हो । यस्तोमा न्युकासलले उनाई एम्रीलाई प्रशिक्षकमा नियुक्त गर्न चाहेको बताइएको छ ।
प्रिमियर लिगकै आर्सनल र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशिक्षक रहिसकेका एम्री हाल स्पेनिस क्लब भिल्लयारियलसँग आबद्ध छन् । केही दिनयता बेलायती सञ्चार माध्यमहरूले एम्री न्युकासलको प्रशिक्षक बन्ने दाबी गरिरहेका छन् । तर एम्री आफैँले भने न्युकासलबाट औपचारिक प्रस्ताव प्राप्त नगरेको स्पष्ट पारेको छन् । यद्यपि इंग्ल्यान्डतर्फको स्थान्तरण असम्भव भने नरहेको उनको भनाइ छ ।
‘मैले न्युकासलले प्रशिक्षक बन्ने प्रस्ताव राखेको छैन । म भिल्लारियलमै खुशी छु । मसँग यो क्लब छाड्ने कुनै कारण छैन । तर यदि कुनै क्लबले मलाई प्रस्ताव पठाउँछ भने, मैले सुरुमा भिल्लारियलसँग छलफल गर्नु पर्ने हुन्छ । भिल्लारियलसँगको छलफलपछि मात्रै निर्णय लिनेछु । र, निर्णय जस्तोसुकै पनि हुन सक्छ,’ एम्रीले भनेका छन् ।
उता भिल्लारियलका अध्यक्ष फर्नान्डो रोइगले एम्री न्युकासल जाने हल्लाबारे आफूलाई थाहा नभएको बताए । ‘एम्री भिल्लारियलमा खुशी छन् । उनी र क्लबबीचको सम्झौता सकिएको छैन । हामीलाई एम्रीका विषयमा कुनै पनि क्लबले सोधेको छैन । र, महत्वपूर्ण कुरा के हो भने एम्रीले भिल्लारियलमा सम्झौता अनुसारको आफ्नो कार्यकाल पूरा गर्नुपर्छ,’ रोइगले भने ।
स्पेनिस सञ्चार माध्यमहरूका अनुसार एम्रीले भिल्लारियलसँग सन् २०२३ सम्मका लागि सम्झौता गरेका छन् । सन् २०२३ अघि कुनै पनि क्लबले एम्रीलाई प्रशिक्षक बनाउन चाहेको खण्डमा ६० लाख युरो ‘रिलिज क्लज’ तिर्नु पर्नेछ ।
एम्रीले गत सिजन भिल्लारियललाई युरोपा लिग विजेता बनाएका थिए । यो सिजन भने भिल्लारियलले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेको छैन । भिल्लारियल हाल ला लिगाको अंक तालिकामा १३ औँ स्थानमा छ । भिल्लारियलले ११ खेलबाट १२ अंक मात्रै जोड्न सकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया