फुटबल

टोटनहममा सान्टोले पर्याप्त समय पाएनन्ः मौउरिन्हो

इकागज |
कात्तिक १८, २०७८ बिहीबार १६:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- जोसे मौउरिन्होले करिब १७ महिना टोटनहमको जिम्मेवारी सम्हालेका थिए । इंग्लिस प्रिमियर लिगमा मौउरिन्होको नेतृत्वमा लन्डनको क्लबले चित्तबुझ्दो प्रदर्शन गर्न नसकेपछि पोर्चुगिज प्रशिक्षक बर्खास्तीमा परे । संयोगवश उनको सट्टामा नियुक्त गरिएका नयाँ प्रशिक्षक नुनो स्प्रिटो सान्टो पनि पोर्चुगलकै थिए । 

तर सान्टो पनि टोटनहममा धेरै समय टिकेनन् । सान्टोको टोटनहम बसाइ झनै छोटो भयो । उनी जम्माजम्मी १७ खेलपछि टोटनहमबाट बाहिरिए । सान्टोलाई सोमबार बर्खास्त गरिएपछि मौउरिन्होको प्रतिक्रिया आएको छ । उनले आफ्ना देशका सान्टोलाई टोटनहमले पर्याप्त समय नदिएको बताएका छन् ।


‘सान्टोले उल्भरह्याम्पटनमा कमाल गरेका थिए । र, त्यसो गर्न उनले चार वा पाँच वर्ष समय लगाए । प्रशिक्षकलाई समय दिनुपर्छ । हो, टोटनहमले सान्टोको स्थानमा राम्रो प्रशिक्षक ल्याएको छ । तर सान्टो पनि कम थिएनन्,’ हाल इटालीको एएस रोमाको प्रशिक्षक रहेका मौउरिन्होले भने । 

शनिबार म्यानचेस्टर युनाइटेडसँग हारेपछि सान्टोलाई पदमुक्त गरिएको थियो । उनको ठाउँमा एन्टोनियो कोन्टेलाई ल्याइएको छ । केही वर्षअघि चेल्सीलाई इंग्लिस प्रिमियर लिग च्याम्पियन बनाएका कोन्टेले गत सिजन इन्टर मिलानलाई सिरी ए जिताएका थिए । 


Author

थप समाचार
x