फुटबल

टोटनहममा कोन्टे युगको सुरुवात, पहिलाे खेलमा भिटेसमाथि कठिन जित

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार १०:४१ बजे

काठमाडौँ- युरोपा कन्फ्रेन्स लिगमा बिहीबार टोटनहम र भिटेस भिडे । सुरूवाती २८ मिनेटभित्र तीन गोल भए । दोस्रो हाफमा तीन खेलाडीले रातो कार्ड पाए । र, खेल अन्ततः टोटनहमले ३–२ ले जित्यो । 

टोटनहमको रंगशालामा भएको खेल एन्टोनियो कोन्टेका लागि डेब्यु खेल थियो । केही दिनअघि टोटनहमको प्रशिक्षक बनेका कोन्टेका लागि पहिलो खेल नै रोमाञ्चक रह्यो । दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले १५ औँ मिनेटमा गोलको खाता खोले ।  


त्यसको सात मिनेटपछि नै टोटनहमले अग्रता दोब्बर बनायो । घरेलु टिमका लागि लुकास मौराले गोल गरे । २८ औँ मिनेटमा ज्याकब रासमुसेनले आत्मघाती गोल गरेपछि टोटनहम ३–० ले अघि बढ्यो । तर उनै रासमुसेनले फेरि गोल गरेपछि भिटेसले खेलमा फर्कने संकेत गर्‍यो । र, भयो पनि त्यस्तै । ३९ औँ मिनेटमा माटुस बेरोले गोल गरेपछि भिटेस ३–२ को अवस्थामा पुग्यो । 

दोस्रो हाफमा गोल थपिएन । तर तीन खेलाडीले रातो कार्ड पाए । ५९ औँ मिनेटमा टोटनहमका रक्षक क्रिस्टियन रोमेरोलाई रेफ्रिले मैदान छाड्न निर्देशन दिए । खेलको अन्तिम १० मिनेटमा भिटेसका दुई खेलाडीले पनि रातो कार्ड पाए । ८१ औँ मिनेटमा डानिल्हो डोएखीलाई रातो कार्ड देखाइयो भने त्यसको चार मिनेटपछि मार्कुस सुबेर्टले पनि मैदान छाडे । 

ढिलोगरी वर्क पर्मिट पाएका कोन्टेले यो खेलका लागि टोटनहमका खेलाडीहरूसँग खासै तयारी गर्न पाएका थिएनन् । यद्यपि उनले टिमको रणनीतिमा आफ्नै शैली अनुसारको तय गरे । उनले तीन सेन्ट्रल डिफेन्डर खेलाए । यो संरचनासँग टोटनहमका खेलाडीहरू अभ्यस्त थिएनन् । यसको असर खेलमा देखियो । टोटनहमका खेलाडीहरूबीच कम्युनिकेसन ग्याप देखियो भने विपक्षी टिमका आक्रामक खेलाडीहरूले बढी स्पेस पाए ।  

भिटेसले ‘ओपन प्ले’ र ‘सेट पिस’मा टोटनहमलाई दुःख दिइरह्यो । रोमेरोले रातो कार्ड खाएपछि त टोटनहम झनै दबाबमा पर्‍यो । तर कोन्टेले खेल संरचना संरचना परिवर्तन गरे र ५–३–१ मा खेलेर टोटनहमले अग्रता जोगायो । 

कठिन जितसँगै टोटनहमले कन्फ्रेन्स लिगमा चार खेलबाट सात अंक बनाएको छ । समूह जी मा रहेको टोटनहम फ्रेन्च क्लब रेन्सभन्दा तीन अंकले पछाडि छ । भिटेस भने ६ अंकका साथ तेस्रो स्थानमा छ । 

 


 


Author

थप समाचार
x