फुटबल

एम्रीले प्रशिक्षक बन्‍न इन्कार गरेपछि न्युकासलको ध्यान हाउतर्फ

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार १२:४५ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडमा हाल प्रशिक्षकको पद खाली छ । नयाँ व्यवस्थापन समूह भित्रिएसँगै स्टिभ ब्रुसले जिम्मेवारी त्यागेपछि न्युकासल नयाँ प्रशिक्षकको खोजीमा छ । न्युकासलले स्पेनिस क्लब भिल्लारियलका उनाई एम्रीलाई अनुबन्ध गर्न चाहेको थियो । तर एम्री न्युकासल जान चाहेनन् । 

अब न्युकासलको ध्यान बेलायती एड्डी हाउमाथि छ । न्युकासलसँग साढे दुई वर्षका लागि सम्झौता गर्न उनी सहमत भइसकेको बताइएको छ । यद्यपि औपचारिक रूपमा भने केही जानकारी दिइएको छैन । 


४३ वर्षिय हाउ हाल क्लबविहिन छन् । सन् २०२० मा बर्नमाउथ छाडेपछि उनी क्लब प्रशिक्षणमा फर्किएका छैनन् । बर्नमाउथ प्रिमियर लिगबाट दोस्रो श्रेणीको च्याम्पियनसिपमा घटुवा भएपछि हाउले पद त्यागेका थिए । 

हाउ एम्री जत्तिको अनुभवी र प्रमाणित प्रशिक्षक नभए पनि न्युकासल व्यवस्थापन भने उनीसँग प्रभावित भएको दी एथ्लेटिकको दाबी छ । दिर्घकालिन योजना बनाएर युवा खेलाडीहरूलाई मौका दिने प्रशिक्षक न्युकासललाई चाहिएको र यसका लागि हाउ उपयुक्त हुने निष्कर्ष निकालिएको छ । 

हाउले डिसेम्बर, २००८ बाट प्रशिक्षण करियर सुरु गरेका थिए । उनी सुरुमा बर्नमाउथको कामचलाउ प्रशिक्षक बनेका थिए । जनवरी, २००९ मा बर्नमाउथको पूर्णकालिन प्रशिक्षक बनेका हाउलाई आक्रामक फुटबल खेलाउने प्रशिक्षकका रुपमा लिइन्छ । 

बर्नमाउथलाई चौथो श्रेणीबाट प्रिमियर लिगसम्म पुर्‍याएका हाउलाई न्युकासल समर्थकले भने तत्काल नरुचाउने सम्भावना छ । किनभने उनीहरू न्युकासललाई तत्कालै शीर्ष सातमा पुर्‍याउन सक्ने ल्याकत भएको प्रशिक्षक आफ्नो क्लबमा भित्रिएको हेर्न चाहन्छन् ।     


Author

थप समाचार
x